कांग्रेसका पूर्व कार्यबाहक सभापति खड्कासँग दलका नेता आङ्देम्बेद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार काठमाडौंस्थित निवासमा भेट्न आएका संसदीय दलका नेता आङदेम्बेलाई खड्काले बधाई दिएका हुन् । उनले आङदेम्बेलाई कार्यकालको शुभकामना दिएका छन् ।

कांग्रेस नेता खड्काले भने, ‘निवर्तमान सह–महामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र÷भाई मा.भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनु भएकोमा हृदयदेखिनै हार्दिक बधाई सहित कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।’

‘यसपटकको संसदको संरचनामा नेपाली कांग्रेस दोश्रो ठूलो राजनीतिक दलको रुपमा उपस्थित भएकोले संसदको समग्र प्रक्रियामा उहाँको भूमिका प्रमुखप्रतिपक्ष दलनेताको हैसियतमा ऐतिहासिक र महत्वपूर्ण रहनेछ,’ नेता खड्काले भने ।

‘संवैधानिक परिषद्को सदस्यको रुपमा उहाँको भूमिका थप प्रभावकारि र महत्वपूर्ण हुनेछ,’ पूर्व कार्यबाहक सभापति खड्काले भनेका छन् ।

आङदेम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत बनाउन पूर्वसभापति शेरबहादुर देउवा, पूर्व कार्यबाहक सभापति खड्का, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, नेता डा.शेखर कोइराला, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायतको विशेष पहल थियो । अधिकांश नेताहरू आङदेम्बेको पक्षमा खुलेपछि सभापति गगनकुमार थापा बाध्य भएर आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन सहमत भएका थिए ।

गगनले संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यलाई चाहेका थिए । सर्वसम्मत बनाउन सकेको भए गगनले ससुरा नाता पर्ने केसी र निर्वाचन भएको भए ठेकेदार पृष्ठभूमिका आचार्यलाई बनाउन चाहेको कांग्रेसकै नेताहरूले बताएका छन् ।

Published : Tuesday, 2026 April 28, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया