विवादास्पद गतिविधि गर्ने सांसदद्वय सुनार र पोखरेलको सभापति लामिछानेद्वारा बचाउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विवादित अभिव्यक्ति दिने सांसदद्वय विश्वराज पोखरेल र खगेन्द्र सुनारको बचाउ गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकारहरूसँग लामिछानेले सांसद सुनारको अभिव्यक्तिबारे प्रताडित समुदायको चर्को आवाज सुन्दा झर्को मान्न नहुने बताए । लामिछानेले भने, ‘खगेन्द्रजीको बारेमा दलित युवा हिरासतमा हुनुहुन्थ्यो, उहाँको विषयमा अलिकति शंकास्पद् विषय आयो उहाँले भन्नुभएको छ ।’

‘मैले पहिलेदेखि नै भन्दैआएको हुँ– वर्षौंदेखि दमित, अलिकति प्रताडित समुदायको आवाज अलिकति चर्को हुन्छ, त्यसलाई झर्को मान्न हुँदैन,’ सभापति लामिछानेले भने, ‘पीडाको अभिव्यक्तिलाई हामीले अलिकति सुन्नुपर्छ भन्ने मेरो मत हो ।’

लामिछानेले मर्यादाको दायरा सबैलाई लागू हुने बताए । ‘त्यसलाई मैले हेर्न बाँकी नै छ,’ उनले भने ।

सांसद पोखरेलले माफी मागिसकेको भन्दै सभापति लामिछानेले माफी मागिसकेकाले त्यसैगरी सबैले ग्रहण गर्नुपर्ने बताएका छन् ।

लामिछानेले भने, ‘ओखलढुङ्गामा भएको विषय पनि सोध्नुभयो । त्यसमा उहाँले सार्वजनिक रूपमा माफी माग्नुभएको जस्तो मलाई लाग्छ ।’

सभापति लामिछानेले पोखरेलले क्षमा मागिसकेकोतर्फ ध्यान दिन आग्रह गरेका छन् । ‘सार्वजनिक अभिव्यक्ति आइसकेपछि उहाँको क्षमा आइसक्या छ नि त । त्यसले अरु साथीलाई पनि काम लागोस्,’ उनले भने ।

‘तर पनि पार्टीले कुनै न कुनै ढंगले मिहीन ढंगले हेर्छ, अनुशासन आयोगले पनि हेर्दैछ,’ रास्वपाका सभापति लामिछानेले भने ।
रास्वपाका सांसद सुनारले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख (एसपी)लाई सिरासेर लैजाने भनेर अमर्यादित अभिव्यक्ति दिएपछि आलोचना भइको थियो ।

रास्वपा सभापति लामिछानेले पार्टीका नेता र सांसदहरूले दिइरहेका विवादित अभिव्यक्तिबारे इंगित गर्दै आफ्नो पार्टी मालिक नभए सेवकहरूको भएको बताएका छन् । उनले रास्वपामा मालिक बन्न चाहनेको स्थान नभएको भन्दै त्यो हेक्का राख्न आग्रह गरे । उनले भने, ‘यत्ति कुरा म भन्छु कि जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन, हामी सेवक हौं । यो हेक्का सबैलाई हुनुपर्छ । मालिक हुन मन हुनेहरूका लागि अरु नै ठाउँ होला ।’

ओखलढुङ्गामा सांसद पोखरेलले प्रधानाध्यापकले स्वागत नगरेको भन्दै अपशब्द बोल्नुका साथै बबण्डर मच्चाएका थिए ।

Published : Monday, 2026 April 27, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया