गगनद्वारा नेता, कार्यकर्ताहरूलाई आफूविरुद्ध बोल्न, लेख्न प्रतिबन्ध, गोरखाका उपसभापतिलाई कारबाही

काठमाडौं । गगनकुमार थापा नेपाली कांग्रेसको नेतृत्वमा पुगेपछि आफ्ना विरोधीहरूलाई ठेगान लगाउँछन्, निरंकुश छन् भन्ने कांग्रेसका तत्कालीन नेता अमरेशकुमार सिंह (हाल रास्वपा)को अभिव्यक्तिले सार्थकता पाउन लागेको छ ।

तत्कालीन समयमा नेता सिंहले शेरबहादुर देउवाभन्दा गगन थापा दोब्बर निरंकुश भएको घोषणा गरेका थिए । अमरेशले भनेको त्यो कुरा अहिले आएर लागू हुन लागेको छ ।

कांग्रेसको नेतृत्वमा गगन पुगेका छन् । सभापति शेरबहादुर देउवालाई अपदस्त गरेर आफू सभापति बनेका छन् । आफ्ना विरोधी र आलोकचहरूलाई कांग्रेस पार्टीमा बस्नै नसक्ने गरेर अवस्थाहरू सिर्जना गरिरहेका छन् ।

कांग्रेस खोल्डोमा जाओस् वा खोलामा जाओस् गगनलाई कुनै मतलव छैन । पार्टीलाई मिलाएर जाने विषयमा गगनप्रति कुनै रुचि छैन । बरु जसरी हुन्छ विरोधीहरूलाई अनुशासनको बहानामा कारबाही गरेर कांग्रेस पार्टीबाट बाहिर निकाल्ने रणनीतिमा गगन लागेको पछिल्ला गतिविधि र हर्कतले देखाइरहेका छन् ।

यसैबीच, गगनले विरोधीहरूलाई ठेगान लगाइरहेका बेला नेपाली कांग्रेस, गोरखाका जिल्ला उपसभापति इमानसिंह बस्नेतमाथि कारबाही प्रक्रिया अघि बढेको छ । बस्नेतले कांग्रेसप्रति अभिरुचि बन्द भयो भन्दै फेसबुक स्टाटस लेखेका थिए । स्टाटस लेखेकै कारण बस्नेतमाथि अनुशासनको कारबाही शुरु भएको छ । यद्यपि, उपसभापति बस्नेतले सो स्टाटस हटाइसकेका छन् । पार्टीको अनुशासन समितिले ३ दिने स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले उक्त पोस्ट किन गर्नुभएको हो ? यस्तो गैर जिम्मेवार अभिव्यक्तिले पार्टी अनुशासन उल्लंघन भए वापत तपाईंलाई कारबाही किन नगर्ने ?’

तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए पार्टीको विधान र नियमावली अनुसार कारबाही प्रक्रिया अघि बढ्ने गोरखा कांग्रेसको अनुशासन समितिले चेतावनी दिएको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । कांग्रेसमा अभिव्यक्ति स्वतन्त्रता छ । अभिव्यक्ति दिएकै कारण अनुशासनको कारबाहीमा पर्नुपर्छ भने यो गम्भीर समीक्षाको विषय हो । शेरबहादुर देउवा, सुशीला कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका यसअघिका सभापतिहरू रहेका बेला बोलेको, लेखेकै भरमा कुनै कारबाही भएको थिएन । र, कारबाही भएको पनि थिएन ।

गगन थापा कांग्रेसको नेतृत्वमा आउनेवित्तिकै धमाधम बोलेको र लेखेकै भरमा अनुशासनको कारबाही गर्नुले ठूलो प्रश्न उठाएको छ ।

गगन थापाको सुधारिएको कांग्रेसले आफूलाई निरंकुश बनाउँदै लगेको छ । सानो स्टाटस त्यो पनि डिलेट भइसकेको विषयमा समेत अनुशासनको कारबाही गर्नु भनेको नेपाली कांग्रेसका लागि लज्जाको विषय बनेको छ ।

Published : Monday, 2026 April 27, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया