लुम्बिनीभित्र दुई वटा कफी शप सञ्चालनको तयारी, सदस्य सचिव श्रेष्ठको विशेष चासो
काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले लुम्बिनी मन्दिर परिसरमा दुई वटा कफी शप खोल्न दिने प्रक्रिया अगाडि बढाएका छन् ।
सदस्य सचिव श्रेष्ठले दुई वटा कफी शप सञ्चालन गर्ने व्यापारीहरूलाई बोलाएर छलफल समेत गरेका लुम्बिनी विकास कोषका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘सदस्य सचिव दीपक श्रेष्ठज्यूले लुम्बिनीभित्र दुई स्थानमा कफी शप खोल्न दिने गरेर तयारी गर्नुभएको छ । किताब राखिएको लाइबेरीमा पनि कफी शप सञ्चालन गर्न दिने भन्ने कुरा सुनेको छु ।’
स्रोतका अनुसार सदस्य सचिव श्रेष्ठले आफू निकटका व्यापारीहरूलाई कफी शप सञ्चालनको स्वीकृत दिन लागेका छन् । कफी शप सञ्चालन गर्न दिए वापत सदस्य सचिव श्रेष्ठलाई दुई वटा कफी शपबाट सेयर वापत २०/२० लाखको प्रस्ताव ती व्यापारीहरूले गरेको आरोप र चर्चा लुम्बिनीका कर्मचारीहरूबीच छ ।
लुम्बिनीमा कफी शप खोल्नै पर्ने हो भने विधि र प्रक्रिया अनुसार गर्नुपर्ने लुम्बिनी विकास कोषका कर्मचारीहरूको भनाइ छ । सरकारले शून्य सहनशीलताको कुरालाई विशेष जोड दिएको छ । यस्तो अवस्थामा कर्मचारी र लुम्बिनीलाई नै क्षति हुने गरेर सेटिङमा दुई वटा कफी शप खोल्न व्यापारीहरूलाई अनुमति दिँदा ठूलो कानून झञ्झट आउन सक्ने कर्मचारीहरूले बताए ।
सदस्य सचिव श्रेष्ठले लुम्बिनीभित्र दुई वटा कफी शप सञ्चालन गर्न दिने कुरालाई स्वीकार गरे । उनले कफी शप सञ्चालन गर्दा ई–बिडिङमार्फत टेण्डर लगाइने बताए । उनले आफूमाथि लागेका आक्षेपहरू निराधार रहेको भन्दै खारेज गरिदिएका छन् ।
सदस्य सचिव श्रेष्ठले भने, ‘दुई वटा कफी शप सञ्चालन गर्न दिने भनेको हौँ । त्यो ई–बिडिङमार्फत गर्ने छौं । कानूनअनुसार नै हुनेछ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया