कांग्रेसमा पैसाको अहँकारपूर्ण अभिव्यक्ति दिएका विनोद चौधरीविरुद्धको मुद्दामा २६ गते पेशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार २६ गते पेसी तोकेको छ ।

कांग्रेसको विधानविपरित चौधरीले १४औँ महाधिवेशनमा मधेशी आरक्षणमा उम्मेदवारी दिइ निर्वाचित भएको अभियोगमा कांग्रेस नेता डा.शुभाषचन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

डा.यादवले कांग्रेसको विधान बमोजिम योग्यता पुगेका उम्मेदवारलाई मधेशी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित गराउन माग दावीसहित रिट दायर गरेका छन् ।

कांग्रेसको विधानमा मधेशी खुल्ला केन्द्रीय सदस्य ५ जना पुरुष रहने व्यवस्था छ । मधेशी खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मध्ये निर्वाचित ५ जना पुरुषमा चौधरी पनि निर्वाचित भएका छन् । डा.यादव छैठौँ स्थानमा रहेका छन् ।

चौधरी कांग्रेसको विधान बमोजिम अयोग्य साबित भएको अवस्थामा डा. यादव केन्द्रीय सदस्यमा स्वतः निर्वाचित हुनेछन् ।

चौधरी र डा.यादवलगायत मधेशी आरक्षणमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए । चौधरीको पार्टी विधान विपरित उम्मेदवारीविरुद्ध डा. यादवले दावी विरोधको आवेदन दर्ता गराउन गएको तर, उनको उजुरी निर्वाचन समितिले आलटाल गर्दै लिएनन् । निर्वाचन समितिले दावी विरोधको उजुरी नलिएपछि भएको निर्वाचनमा चौधरी निर्वाचित भएका हुन् ।

डा.यादवले निर्वाचन समिति, निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालयलगायत नेताहरू समक्ष पार्टीको विधान अनुरुप चौधरीको केन्द्रीय सदस्यको उम्मेदवारी खारेज हुनुपर्ने अनेकौँ हारगुहार लगाए पनि कुनै सुनुवाइ नभएपछि न्यायका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गराएका थिए ।

डा.यादवले चौधरीविरुद्ध सर्वोच्चमा २०७८ फाल्गुन ३ गते रिट दायर गरेका हुन् । रिट मुद्दामा सर्वोच्च अदालतले २० वटाभन्दा बढी पेसी तोकिसकेकोले असार २३ गते सुनुवाइ गरी फैसला गर्ने सम्भावना रहेको डा.यादव र उनका कानून व्यवसायीहरूले बताएका छन् ।

नेपाली कांग्रेसको विधानको दफा २१ को उपदफा (८) अनुसार पार्टीको निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था छ ।

चौधरी २०६४ को दोस्रो संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । चौधरी २०६९ सालसम्म एमालेबाट संविधानसभा सदस्य रहेका थिए । चौधरी २०७४ सालमा मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । चौधरी केन्द्रीय सदस्यका लागि अयोग्य देखिएका हुन् ।

चौधरीले उम्मेदवारी दिने क्रममा क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष भएको फर्जी कागजात निर्वाचन समितिमा पेश गरेर निर्वाचित भएको आरोप छ । डा.यादव नेपाली कांग्रेस सिरहा क्षेत्र नं. ३ बाट महासमिति सदस्य छन् । माओवादी द्वन्द्वकालमा माओवादीद्वारा हत्या गरिएका तत्कालीन नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्रनारायण यादव र नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा चौधरीलाई पार्टीको विधानविपरित केन्द्रीय सदस्यमा किन निर्वाचित गराएको भन्दै गम्भीर कानूनी र राजनैतिक प्रश्न उठाएका छन् । चौधरीले डा.कोइरालाले उठाएको प्रश्नको प्रतिवाद गरेपछि पार्टीका नेता तथा कार्यकर्ता चौधरीविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।

सांसद एवम् केन्द्रीय सदस्य चौधरी पार्टीलाई चन्दा दिएको र निजी क्षेत्रको धम्की दिएर अहँकारयुक्त अभिव्यक्ति दिएपछि केन्द्रीय कार्यसमिति बैठकमा आलोचना हुँदै आएको छ । अरबपति चौधरीले पैसाको अहँकार र घमण्ड देखाएको कांग्रेसका नेता कार्यकर्तालाई चित्त बुझेको छैन । कांग्रेसलाई चौधरीले भन्दै राम्रो आर्थिक सहयोग गर्ने नेता, कार्यकर्ता चुपचाप लागेर जस नलिएर संगठन निर्माणमा खटिएका छन् । केही वर्ष अगाडि मात्रै एमालेबाट कांग्रेसमा प्रवेश गरेका अरबपति चौधरीले आर्थिक सहयोग गरेको घमण्डपूर्ण अभिव्यक्ति दिएका छन् ।

Published : Sunday, 2025 July 6, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया