राजावादीहरूको बैठकमा झण्डै कुटाकुट, कमल थापा जहाँ जान्छन् त्यहाँ भाडँभैलो, लिङदेन आएनन्

काठमाडौं । राजावादीहरूको समीक्षा बैठकमा विवाद भएपछि झण्डै हातहालाहलको अवस्था सिर्जना भएको छ ।

बुधबार काठमाडौंको सुकेधारास्थित पार्टी प्यालेसमा भएको समीक्षा बैठकमा विवाद भएको हो । सहभागीहरूले आन्दोलनको नेतृत्वमाथि प्रश्न उठाएपछि संयोजक नवराज सुवेदी, कमल थापा, अधिवक्ता स्वागत नेपाल, विवादित धर्मगुरु आचार्य श्रीनिवास लगायतका नेताहरू प्रश्न गर्ने सहभागीहरूमाथि खनिएका छन् ।

राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समीक्षा बैठक बसेको थियो ।

आन्दोलनको समीक्षा तथा नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरूले हो–हल्ला गरेपछि भाँडिएको छ ।

बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति रहेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउँदै नाराबाजी गरेका छन् ।

बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नारावाजी तथा हो–हल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए ।

त्यसपछि संयोजक नवराज सुवेदीले पहिलोे चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिटै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिवद्धता जनाए । सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाहरूले छुट्टै भेला गरेका छन् ।

कमल थापा जहाँ सहभागी हुन्छन् त्यहाँ भाडभैलो मच्चाउँछन् भन्ने बिगतदेखि आरोप लाग्दै आएको छ । कमल थापा सहभागी भएपछि काठमाडौं केन्द्रित आन्दोलन तुहिएको आरोप लागेका बेला राजावादीहरूको समीक्षा बैठकका भाँडभैलो भएको छ । कमल थापा सहभागी भएपछि समीक्षा बैठकमा राजेन्द्र लिङदेन उपस्थित नै भएनन् । योसँगै राजावादीहरू तितरवितर बनेका छन् ।

यसैबीच, राजावादी घटकहरूको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी दिनमा आन्दोलनको स्वरुपलाई परिवर्तन गर्ने भएको छ ।

आगामी दिनमा काठमाडौं, देशका अन्य मुख्य शहरहरूमा जुलुस, सभा र सम्मेलन गर्ने समेत बताइएको छ ।

Published : Wednesday, 2025 June 4, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया