हेटौँडामा बागमती प्रदेश स्पोट्रस अवार्ड हुने, खेलाडीलाई पुरस्कार प्रदान गरिने

हेटौँडा । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जेठ ४ गते हेटौँडामा बागमती प्रदेश स्पोट्रस अवार्ड हुने भएको छ ।

हेटौँडामा बिहीबार युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसहित मन्त्रालयलयका सचिव सूर्यबहादुर थापा लगायतको उपस्थितिमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्येश्यकासाथ अर्वाड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

मन्त्री महर्जनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र सिङ्गो राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् । त्यस्ता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिनेछ ।’

खेल क्षेत्रमा नँया खेलाडीको रुपमा प्रवेश गरेका युवाहरूलाईसमेत खेलकुदमा आवद्ध हुन हौसला र प्रेरणास्वरुप अर्वाड प्रदान गरिने मन्त्री महर्जनले बताए ।

बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी, महिला, पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, र उत्कृष्ट पत्रकारसमेत गरी ८ विधामा १२ जनालाई अर्वाड प्रदान गरिन लागिएको हो ।

उत्कृष्ट खेलाडी महिला पुरुष, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । बाँकीलाई जनही ५० हजार रुपियाँसहित अवार्ड दिइने आयोजकले जनाएको छ ।

कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरू समेत रहनेछ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले यस्तो अवार्ड पहिलोपटक आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई सम्पन्न गर्नका लागि मन्त्रालयबाट सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ ।

अर्वाडका लागि खेलाडी छनोट गर्दा यसअघि समाजमा पुर्‍याएको योगदान, खेल क्षेत्रमा परेको प्रभाव र नयाँ पुस्तालाई प्रेरणा लगायतका कुरालाई ध्यानमा राखेर गरिनेछ ।

खेलकुदको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेर योगदान दिने एक वरिष्ठ पत्रकारलाई पनि सम्मान गरिनेछ ।

Published : Thursday, 2025 May 15, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया