विदेशबाट एउटा नेपाली फर्किन्छु भन्छ भने नागरिकता खै नभनौं : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बाहिरबाट आउने नेपालीलाई प्रक्रियागत झन्झटका नाममा रोक्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा खतिवडाले ‘विदेश गएका बच्चाहरु फर्केर आउने वातावरण बनाउनेभन्दा बुवाआमा पनि उतै लाने प्रवृत्ति बढिरहेको छ ।’

उनले भने, ‘बाहिर जाने नेपालीलाई आकर्षित गर्ने वातावरण बनाउ । बाहिर जाने अन्त्य गरौँ । त्यसको लागि कहाँ कहाँ कानून संशोधन गर्नुपर्छ हामी तयार छौं ।’

‘नेपाली नागरिक नेपालमा आएर बस्छुभन्दा किन यत्रो झन्झट ?,’ उनले प्रश्न गर्दै भने, ‘सबै मिलेर हटाउ । संशोधन गरौँ । संविधान संशोधन गर्नुपर्छ गरौं ।’

‘एउटा नेपाली फर्किन्छु भन्छ भने नागरिकता खै नभनौं । वातावरण बनाउ,’ सभापति खतिवडाले भनेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका सभापति खतिवडाले कानूनी सहजीकरणका लागि गृहमन्त्री रमेश लेखकले जुनसुकै कदम चाल्न तयार रहेको बताए ।

खतिवडाले भने, ‘गृहमन्त्रीले पनि जुनसुकै संशोधन गर्नु भन्नुभएको छ । प्रधानमन्त्री पनि चाहनुभएको छ । दुई ठूला दल मिलेर काम गर्न र मुद्दामा असफल हुने र भाषणमा मात्रै सफल भयो भनेर हुँदैन । अब काम गर्नुपर्छ ।’

खतिवडाले नेपाली नागरिकहरूलाई सहजता बनाउनका लागि सरकारले ल्याउने विधेयकमा काम गर्न र विधेयक ल्याउनको लागि घच्घच्याउने बताएका छन् ।

‘बाहिर गएको कुनै नेपालीले देशमा आएर लगानी गर्छु भन्दा रोक्ने काम नगरौं’, उनले भने, ‘देशको कुरा गरौं । एकीकृत भएर आउनुस् । हामी जुनसुकै सहजकीरण गर्छौं ।’

सभापति खतिवडाले संस्थालाई एकताबद्ध बनाउनुपर्ने बताए । ‘एनआरएनए ग्रुप ग्रुप भएर फुटेर जानुभयो भने तपाईका मुद्दाहरू कमजोर हुन्छ । विभाजित नहुनुस्,’ उनले भने, ‘एकीकृत भएर अगाडि बढ्नुस् । तपाईहरू कमजोर हुँदा मुद्दा र बार्गेनिङ पावर कमजोर हुन्छ । आजैका दिनदेखि एकता गर्नुस् ।’

Published : Thursday, 2025 May 15, 7:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया