पोखरा १५ अर्ब घोटालामा डामिएका चाँदमाला–विनेशलाई बढुवा गरेर पुरस्कृत गर्दै प्रदीप

काठमाडौं । पोखरा अन्तर्राष्ट्रि विमानस्थल निर्माणमा झण्डै १५ अर्ब घोटाला काण्डमा कारबाही सिफारिसमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूसँगै कारबाही सूचीमा रहेका दुई जना ९ तहका कर्मचारीलाई १० तहमा बढुवा गराउन कस्सिएका छन् ।

सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा झण्डै १५ अर्ब घोटाला, भ्रष्टाचार र अनियमितता भएको भन्दै महानिर्देशक अधिकारीसहितका ८ जना उच्च कर्मचारीहरूलाई निलम्बनसहित कारबाही सिफारिस गरेको छ । कारबाही सिफारिसमा परेका महानिर्देशक अधिकारीले आफूसँगै कारबाही सिफारिसमा परेकी ९ तहकी आर्किटेक्चर चाँदमाला श्रेष्ठ र सिभिल ईन्जिनियर विनेश मुनकर्मीलाई १० तहमा बढुवा गराउन चलखेल शुरु गरेको उच्च स्रोतले जनाएको छ । कारबाही गर्नुपर्ने कर्मचारीहरूलाई बढुवा गरेर पुरस्कृत गर्न लागेपछि प्राधिकरणभित्र व्यापक असन्तुष्टि भएको छ ।

प्राधिकरणले २०८१ चैत १५ गते सूचना प्रकाशित गरेर १० तह (उपनिर्देशक)को सिभिल ईन्जिनियरिङ्गका लागि १ जना बढुवा गर्ने तयारी गरेको छ । बढुवा समितिमा महानिर्देशक अधिकारी पनि छन् । महानिर्देशक नै पोखरा विमानस्थल प्रकरणमा १५ अर्ब घोटालाको नाइकेका रुपमा मुछिएका छन् ।

सिभिल ईन्जिनियरिङ्गको उपनिर्देशकको १ पदमा बढुवा हुन जोडबल गर्नेमा ९ तहकी चाँदमाला र विनेश छन् । चाँदमाला र विनेश दुबै जना पोखराको १५ अर्ब घोटाला काण्डमा लिङ्देन उपसमितिमा निलम्बन गरी कारबाही सिफारिसमा परेका छन् । कारबाही सिफारिसमा परेकाहरूलाई नै बढुवा गरेर पुरस्कृत गर्न खोजिएको भन्दै प्राधिकरणभित्र बबाल भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका लागि शर्त र सुविधा सम्बन्धी नियमावली २०५५ ले सिभिल ईन्जिनियरिङको १० तह (उपनिर्देशक) पदमा बढुवा हुनका लागि सिभिल ईन्जिनियर नै आवश्यक पर्छ । विनेश १० तहमा बढुवा हुन योग्य भए छन् । तर, चाँदमाला आर्किटेक्चर भएका कारण यो पदमा बढुवा हुन नियमावलीले दिँदैन ।

नियमावलीले भनेको छ– मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईनिजनियरिङ्ग विषयमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण भनिएको छ । नियमावली विपरित चाँदमाला लाई बढुवा गर्न लागेको भन्दै विभिन्न निकायमा उजुरीहरू समेत परेका छन् । १५ अर्ब घोटालामा डामिएका पोखरा विमानस्थलमा कार्यरत विनेश मुनकर्मी सबै काम छाडेर बढुवा गर्न दौडधुप गर्न काठमाडौंमा अड्डा जमाएर बसेका छन् ।

उता, चाँदमाला पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भए पनि प्राधिकरणको केन्द्रीय कार्यालयमा बढुवा हुन महानिर्देशक अधिकारीलाई दवाव दिँदै बस्ने गरेकी छिन् । चाँदमाला विनेशभन्दा वरिष्ठ हुन् तर, उनलाई योग्यताले सहयोग गर्दैन । चाँदमालासँग महानिर्देशक अधिकारीको आशीर्वाद छ ।

स्रोतका अनुसार महानिर्देशक अधिकारीले चाँदमालालाई एक्लै भेट गर्दा ‘तपाईलाई बढुवा गराउँछु’ भनेर आश्वासन दिने गरेका छन् । चाँदमालालाई यो पदमा बढुवा हुन नियमावलीले बाटो बन्द गरिदिएको छ । तैपनि महानिर्देशक अधिकारीले चाँदमालालाई च्यापेका छन् ।

उता, विनेशसँग एक्लै भेट्दा महानिर्देशक अधिकारीले ‘चाँदमालाको योग्यता पुग्दैन तपाईलाई हो बढुवा गर्ने’ भनेर आश्वासन दिने गरेको उच्च स्रोतले जनाएको छ ।

लिङ्देन उपसमितिको प्रतिवेदनमा महानिर्देशक अधिकारी, चाँदमाला र विनेश १५ अर्ब घोटाला काण्डमा कारबाही सिफारिसमा परेका छन् । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि १५ अर्ब घोटालामा अनुसन्धान चलिरहेको छ । यी तीन जनाले अख्तियारमा १५ अर्ब घोटाला काण्डमा पटक पटक बयान दिइसकेका छन् । अख्तियारले विशेष अदालतमा अभियोग पत्र दर्ता गरायो भने महानिर्देशक अधिकारीका साथै चाँदमाला र विनेश पनि निलम्बनमा पर्नुका साथै जेलसम्म जाने अवस्था सिर्जना हुन सक्छ ।

चाँदमाला र विनेशले बढुवामा तनाब दिएपछि महानिर्देशक अधिकारीले दुबै जनालाई विदेश घुम्न जाउ भनेर आग्रह गर्ने गरेका छन् ।

Published : Friday, 2025 May 2, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया