प्रधानमन्त्री ओलीद्वारा सभापति देउवासहितका शीर्ष नेताहरूसँग परामर्श

काठमाडौं । एमाले, नेपाली कांग्रेससहितका दलहरूले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारेमा छलफल गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको नीति तथा कार्यक्रम, बजेट र समग्र राजनीतिक विषयमा छलफल भएको एमालेका नेता प्रदीप ज्ञवालीले बताए । उनले अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूबाट आएको बताए ।

उनले भने, ‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ ।’

एमाले नेता ज्ञवालीले समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको बताए ।

लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको छ । उनले विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको बताए ।

आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको ज्ञवालीले बताएका छन् ।

‘खासगरी युवा पुस्ताहरूमा आशा र विश्वास जगाउनका लागि निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनु भएको छ’, ज्ञवालीले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । सरकारको नीति तथा कार्यक्रम आउनुअघि सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्री केपी ओलीले सत्तापक्षीय दलहरूका नेताहरूबाट सुझाव माग गरेका छन् ।

बैठकमा आन्दोलनरत नेपाल शिक्षक महासंघसँग वार्ता सकारात्मक भइरहेको ब्रिफिङ भएको थियो । ज्ञवालीले पनि शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको र छिट्टै सहमतिमा पुगिने बताए ।

बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उप–महासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायत सहभागी थिए ।

Published : Wednesday, 2025 April 30, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया