विभागहरू सक्रियता हुँदा पार्टीलाई गतिशील बनाएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको बताएका छन् ।

मंगलबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा विपन्न उत्थान समन्वय विभागको कार्यक्रममा देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताए ।

उनले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्वपूर्ण हुने बताएका छन् ।

सभापति देउवाले कांग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषय वस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसले गठन गरेको प्रायः सबै विभागहरूले सक्रियताका साथ राम्रो काम गरिराख्नुभएको छ । विभागहरूको सक्रियताले पार्टीलाई गतिशील बनाएको छ र नयाँ ऊर्जा पनि थपेको छ ।’

‘लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीति तर्जुमाको लागि महत्वपूर्ण हुने छन्’, देउवाले भने, ‘यस सन्दर्भमा विभिन्न उत्थानसम्बन्धी विभागहरूले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषयहरूलाई समेटेर प्रतिवेदन पेस गर्नुभएकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।’

सभापति देउवाले पार्टीका विभिन्न विभागबाट प्राप्त हुने सुझावहरूलाई ध्यानमा राखेर नेपालको अर्थतन्त्रले भ्याएसम्म कामहरू अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Published : Tuesday, 2025 April 29, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया