प्रदीपद्वारा पोखराको १५ अर्बपछि भैरहवामा २३ अर्ब घोटाला, तत्कालीन मन्त्रीद्वारा गल्ती स्वीकार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २३ अर्ब भ्रष्टाचार भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि बिचार गरियोस् भन्ने प्रस्तावमा छलफलमा भाग लिँदै सांसद आलेले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नाम नलिएर पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा झण्डै ४० अर्ब भ्रष्टाचार गरेको आरोप लगाए । उनले पोखरामा झण्डै १५ अर्ब र भैरहवा विमानस्थलमा झण्डै २३ अर्ब भ्रष्टाचार भएको बताए । उनले भने, ‘भैरहवाको एकचोटी हेरौँ । पोखराको त ट्रेलर मात्रै हो ।’

‘फिलिम भैरहवा हामी हेरौँ न । त्यहाँ भैँसी चरिरहेको छ’, सांसद आलेले भने, ‘हजारौँ भैँसी त्यहाँ एयरपोर्टमा भैँसी चरन भएको छ ।’

उनले भने, ‘त्यति मात्रै नभएर त्यहाँ माछा मारिरहेका छन् । अनावश्यक राज्यलाई लोड थप्ने काम भएको छ ।’

‘स्थानीय एयरपोर्टले भार थपेको छ । २३ अर्बको जग्गा खरिद गरेर त्यहाँ भ्रष्टाचार गरेको छ’, पूर्वमन्त्री समेत रहेका सांसद आलेले भने ।

सांसद आलेले भने, ‘जुनियर मान्छेलाई ल्याएर डीजी बनाइयो । हो बनाइयो । मेरै पालमा बनेको हो । निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो भनेर, साधु हो भनेर थाहा हुँदैन । त्यो बेलामा मैले धेरै पटक भनेको हो । जुनियर मुन्छे (मान्छे) लाई नबनाऔँ, नबनाऔँ भन्दा पनि पार्टीको दवाव झेल्न नसकेर त्यो मान्छेलाई डीजी बनाइयो ।’

उनले भने, ‘नियमन निकाय र सेवा प्रदायक छुट्टाछुट्टै भएको भए पोखराको दुर्घटना हुने थिएन । एउटा व्यक्ति दुबै ठाउँको प्रमुख छ । सेवा प्रदायकको पनि छ । नियमक निकायको पनि छ । कन्फिलिक्ट अफ इन्ट्रेस्ट बाझिएकोले नै त्यो पोखराको दुरदशा भएको छ ।’

सांसद आलेले भने, ‘२०८० साउन ९ गते सौर्य एयरलाईन्सको जहाज ३४ दिनदेखि ग्राउण्डेड थियो । मर्मत गरिरहेको जहाजलाई जबरजस्ती क्यानको महानिर्देशकले खुरुक्क पोखरा जाने, होइन भने तिमीलाई ब्ल्याक लिष्ट गरिदिन्छु भनेर धम्काए ।’

‘उसलाई त्यहाँबाट धपाउने काम भयो । कम्तिमा जहाजलाई पोखरा मर्मत गर्न जाँदा त्यसमा १८ जना यात्रु राख्न मिल्छ कि मिल्दैन ? नियमक निकायले हेर्न पर्छ कि पर्दैन ? उसले हेरेको छैन । त्यसले गर्दा यो दुर्घटना भएको छ । ४ वर्षको बच्चालाई समेत प्यासेन्जर बनाएर लगिएको छ’, आलेले भने ।

‘कार्गो, बिग्रिएको सामान समेत त्यो जहाजमा हालेर लगिएको छ । त्योभन्दा दुरदशा अरु के हुन सक्छ’, उनले भने ।

‘जुन जहाज दुर्घटना भएको छ, कानूनी व्यवस्थाअनुसार कम्तिमा जाँचबुझ आयोगको सदस्यको अनुभव १५ वर्षको हुनुपर्छ । १५ वर्ष अनुभव नरहेको व्यक्तिलाई छानविनमा राखिएको छ’, उनले भने ।

पोखरा र भैरहवा विमानस्थल बनाउँदा प्राधिकरणका हालका महानिर्देशक अधिकारी नै आयोजना प्रमुख थिए । अधिकारीले विमानस्थल निर्माणका क्रममा झण्डै ४० अर्ब घोटाला गरेको पूर्वमन्त्री आलेले आरोप लगाएपछि बबाल भएको छ । तत्कालीन मन्त्री आलेले आफैले नै आफ्नो पार्टीको दवावमा जुनियर कर्मचारी अधिकारीलाई महानिर्देशक बनाएको स्वीकार गरे ।

Published : Tuesday, 2025 April 29, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया