१५ अर्ब घोटालामा मुछिएका प्रदीपको संगत विवादास्पद व्यापारीसँग, अनुसन्धानको दायरामा राख्न सुझाव

काठमाडौं । झण्डै १५ अर्ब घोटाला, अनियमितता र भ्रष्टाचार काण्डमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र विवादास्पद व्यापारी सुवास श्रेष्ठबीच निकै नजिकको सम्बन्ध रहेको चर्चा चलेको छ ।

अधिकारी र श्रेष्ठ अधिकांशसँगै हुन्छन् । अधिकारीलाई श्रेष्ठले विभिन्न खालका सुझाव र सल्लाह दिने गरेको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ । पोखरामा आर्जित अबैध सम्पत्ति व्यवस्थापन गर्न महानिर्देशक अधिकारीलाई यिनै विवादास्पद व्यापारी श्रेष्ठले सहयोग गरेको आरोप पनि छ । पोखरा घोटालाको अनुसन्धान गर्दा श्रेष्ठलाई पनि राडरभित्र राखेर अनुसन्धान तथा छानविनको माग प्राधिरणका कर्मचारीहरूले गरेका छन् ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निजी व्यापारीहरूलाई पैसा सटही काउन्टर स्थापना गर्न दिएका छन् । विश्वभरि विमानस्थलभित्र मुद्रा सटही काउन्टर सरकारी बैंकले मात्रै गर्न पाउँछन् । महानिर्देशक अधिकारीले सेटिङमा विवादास्पद व्यापारी श्रेष्ठ, दीपक मल्होत्रा लगायतलाई कारोबार गर्ने अधिकार दिएको आरोप छ ।

विवादास्पद व्यापारी श्रेष्ठले विगत १८/२० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरू सञ्चालन गर्दै आएका छन् । उनले पैसा साट्ने पसल पनि सञ्चालन गर्दै आएका छन् ।

विगतमा डलर तस्करी गरेको अभियोगमा पक्राउ परेर छुटेका श्रेष्ठले नै अधिकारीलाई संरक्षण गर्दै आएकाे चर्चा छ । श्रेष्ठले अदालतको आदेशको भरमा विमानस्थलभित्र पसलहरू सञ्चालन गर्दै आएका छन् ।

प्रक्रिया पुर्‍याएर श्रेष्ठलाई पसलहरू सञ्चालनको जिम्मेवारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा जगन्नाथ निरौलालाई महानिर्देशक अधिकारीले लगेका छन् । श्रेष्ठलाई पसलहरू सञ्चालन गर्नका लागि कानूनी रुपमा बाटो खुलाउन निरौलाले सकिरहेका छैनन् ।

Published : Monday, 2025 April 28, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया