हवाई दुर्घटना धेरै भएपछि सुरक्षाका लागि प्राधिकरण विभाजनको विधेयक : कांग्रेस सांसद जबरा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर जबराले नेपालको हवाई सुरक्षालाई लिएर आएको विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा सदनमा पेश गरिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई विचार गरियोस्’ भन्ने प्रस्तावको छलफलमा भाग लिँदै सांसद जबराले भने, ‘हामीले ल्याएको यो दुईवटा विधेयक सेपरेशन गर्नुपर्ने सबै महत्वपूर्ण कारण चाहिँ हाम्रो नेपालको एयरसेफ्टी रेकर्ड अत्यन्तै बढि एयर एक्सिडेन्ट भएको कारणले पनि र त्यसलाई अनुसन्धान गर्नको निम्ति पनि एउटै निकाय र एउटै निकायले सर्भिस पनि दिने र त्यही निकायले रेगुलेट पनि गर्ने भन्ने भइसकेपछि यो कन्फिलिक्ट आफ इन्ट्रेस्टको कारणले पनि यो दुई वटा विधेयक अहिले आएको छ ।’

उनले भने, ‘२०१२ सालदेखि अड्कीएको विधेयक अहिले आएको छ । अगाडि बढाउनुपर्छ ।’

उनले भने, ‘कर्मचारीहरूले पाइरहेको सेवा सुविधाहरू निरन्तरता दिनुपर्ने ग्यारेन्टीका रुपमा कर्मचारी साथीहरूलाई दिनुपर्ने हुन्छ ।’

‘यो दुइटा सेपरेशन गरिसकेपछि त्यसको आर्थिक भार बढि हुन्छ भन्ने कुराहरू पनि आएको छ । विशेष आर्थिक भार बढ्ने भनेको कर्मचारी बढेपछि हो’, कांग्रेस सांसद जबराले भने ।

‘अहिले सेपरेशनले कर्मचारी बढ्दैन । भएका कर्मचारीहरूलाई दुई ठाउँमा राख्ने मात्रै हो । अर्को भनेको पूर्वाधार’, उनले भने ।

‘अहिले एयरपोर्ट अगाडि नै एउटा बिल्डिङ बनिसकेको छ । नयाँ बिल्डिङ वा पूर्वाधार बनाउन पनि जरुरी छैन । आर्थिक भार पनि बढ्ने ठाउँ म देख्दैन’, सांसद जबराले भने ।

‘कर्मचारीको व्यवस्थापनमा हामीले अलिक बढि ध्यान दिनुपर्ने हुन्छ’, पूर्वअर्थराज्यमन्त्री समेत रहेका कांग्रेस सांसद जबराले भने ।

Published : Sunday, 2025 April 27, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया