१५ अर्ब घोटालाका नाइके प्रदीपलाई नेता-मन्त्रीले पैसा खाएर नियुक्त गरेको सिंहको खुलासा

काठमाडौं । सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नेताहरूले पैसा खाएर प्रदीप अधिकारीलाई नियुक्ति गरिएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सदनमा पेश गरिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई विचार गरियोस्’ भन्ने प्रस्तावको छलफलमा भाग लिँदै सांसद सिंहले १२ तहका ६ जना हुँदाहुँदै नेता र मन्त्रीले पैसा खाएर ११ तहका प्रदीप अधिकारीलाई महानिर्देशकमा नियुक्ति गरिएको बताए ।

उनले भने, ‘नेपाल नागरिक उड्डय प्राधिकरणमा १२ तहको ६ जना हुँदाहुँदै, कुन कुन नेताले कति पैसा खानु भयो उहाँले भन्ने कुरा हो । तर, पैसा खाएर ११ तहको मान्छेलाई डीजी बनाएको छ । पर्यटन मन्त्रीको प्यारो हुन्छ ।’

प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्ति गर्दा तत्कालीन समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले रहेका थिए । आलेले नै प्रदीपलाई महानिर्देशमा नियुक्त गरेका हुन् ।

‘पर्यटनमन्त्री मेरो मित्र पनि हो कांग्रेसमा हुँदाको उहाँको जागिर खाएको छैन । योभन्दा पहिलाको मन्त्री सुदन किराँतीको जागिर खाइदिएको हो । सुदन किराँतीको जागिर तत्कालीन प्रधानमन्त्री प्रचण्डले खाएको होइन । प्राधिकरणको डीजीले खाइदिएको हो’, सांसद सिंहले बताए ।

‘नेतालाई पैसा चाहिन्छ । पैसा भएपछि जस्तो सुकैलाई बढावा दिन्छन्’, सांसद पाण्डेले भने, ‘त्यसको लागि कुनै पनि इमान्दार व्यक्तिको लागि ठाउँ छैन । यो प्रवृत्तिको अन्त्यको लागि यो विधेयक चाँडै पारित हुनुपर्छ ।’

Published : Sunday, 2025 April 27, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया