काण्डैकाण्ड लागेका कुलमानबारे प्रचण्डलाई प्रधानमन्त्रीले दिए टाउको घुम्ने जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङको नाम नलिएर प्रतिनिधिसभामा जवाफ दिनुपर्ने कुनै आवश्यक्ता नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्‍यो रे पार्लियामेन्टमा । जवाफ दिइसक्यो । कहाँ पार्लियामेन्टमा जवाफ दिने ? थाहा पाइएन ? एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो ।’

ओलीले भने, ‘सरकारले एउटा कर्मचारी निकाल्यो, ठूलो घाटा परेछ कसैलाई, छाती पिटीपिटीकन रोएका छन्, त्यसको विधि अर्को होला नि त, संसद् पो बन्द गरेका छन् ।’

ओलीले भने, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू र प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी पनि नबोल्नुस् ।’

कुलमान घिसिङलाई हटाएर आफूले कुनै अपराध नगरेको ओलीले बताएका छन् । ‘थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो त्यो पनि देखिएको छ’, ओलीले भने ।

‘कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरी लगाउँदै हिँड्नुभएको छ, आफ्ना असफलताका कुण्ठा छर्ने थलो बनाउनुहुन्छ संसद्लाई ?’, ओलीले प्रश्न गरेका छन् ।

माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका प्रतिपक्षीले संसद् अवरोध गरिरहने र प्रधानमन्त्रीले जवाफ नदिने हो भने संसदमा विचाराधीन अध्यादेश प्रतिस्थापन विधेयक प्रभावित हुने देखिएको छ ।

सरकारले ल्याएका अध्यादेश प्रतिस्थापन विधेयक चैत १९ भित्र राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना जारी भइसक्नुपर्ने संविधानको व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले ती अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्न नदिन विपक्षीले संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

‘अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने ? उहाँहरू के–के न इस्यु पायौं भनेर बोकेर हिँड्ने ? त्यो हामीले बुझेका छौं । उहाँहरू देशलाई एक पाइला अघि बढ्न दिन चाहनुहुन्न’, ओलीले भने ।

‘कानून पास गर्न नदिन कोसिस गरिरहनुभएको छ । त्यसका विरुद्ध एउटा बहानामा संसद् अवरुद्ध गर्न खोजिएको हो, त्यो सबैलाई थाहा छ’, प्रधानमन्त्री ओलीले भने ।

‘१८ गतेभित्र अध्यादेशलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानून बन्दैन’, उनले भनेका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई हटाएको विरोध गर्दै प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले जवाफ नदिदासम्म सदन चल्न नदिने दाहालको चेतावनी आएका बेला प्रधानमन्त्री ओलीले पनि सोही शैलीमा जवाफ दिएका छन् ।

Published : Thursday, 2025 March 27, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया