प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउन विषयमा छलफल भएको छ ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बताएका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित २ वटा आयोग गठन गर्ने विषयसँग गाँसिएको भन्दै खरेलले केही समयअगाडि दुइटै आयोग गठन गर्न बनेको सर्च कमिटीले तयार पारेको प्रतिवेदनका बारेमा छलफल भएको बताए ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुई महिना लामो दौडधुपपछि पनि गत पुस १ मा नाम दिन नसकेपछि यी दुई आयोग गठन प्रक्रिया रोकिएको थियो ।

बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा पनि उपस्थित थिए ।

Published : Monday, 2025 March 24, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया