भुक्तानी समस्या समाधान र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सोमबार वीपीनगर, ललितपुरमा निर्माण व्यवसायीको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै देउवाले निर्माण व्यवसायीको योगदानविना भौतिक पूर्वाधारको विकास सम्भव नरहेको बताए ।

उनले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रिक व्यवस्था कायम भए पनि आर्थिक समृद्धिको मार्गमा सोँचेजस्तो सफलता प्राप्त गर्न नसकेको बताए ।
सभापति देउवाले विश्व अर्थतन्त्रमा समेत समस्या आएको अवस्थामा २५ लाखभन्दा बढीलाई रोजगारी दिने निर्माण व्यवसायी क्षेत्रलाई समृद्ध बनाउन निर्माण व्यवसायीसम्बन्धी कानून आवश्यक रहेको बताए । यसका लागि आफूले पहल गर्ने उनले बताए ।

सभापति देउवाले भुक्तानी समस्या, निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि नियन्त्रण र सहज रूपमा निर्माण व्यवसायको काम गर्नका लागि पनि आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

उनले निर्माण व्यवसायलाई थप प्रविधिमैत्री बनाउँदै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीका साथै सरकारले पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

Published : Monday, 2025 March 24, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया