पूर्वराजा ज्ञानेन्द्र, राप्रपा र राजावादीहरूलाई कांग्रेस सभापति देउवाले दिए कठोर सुझाव

काठमाडौं । नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको बताएका छन् ।
आइतबार ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक हुन पनि नसक्ने बताए । उनले पूर्वराजाको पछि लागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पछि पछुताउने बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने भनेर राप्रपा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितको समूहले काठमाडौंमा बेलाबेला प्रदर्शन गरिरहेका बेला कांग्रेस सभापति देउवाले पूर्वराजा र राजसंस्थाबारे कठोर टिप्पणी गरेका छन् ।
सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ नि भन्दै सुझाव दिएका छन् । ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् । राप्रपाले पार्टी सभापति बनाए हुन्छ’, सभापति देउवाले भने ।
‘राजनीति गर्ने भए पार्टी खोले भइहाल्यो । तर, यो पार्टीमा लाग्नेले धेरै दुःख पाउँछन् । पछि राप्रपा पनि पछुताउँछ । दुःख पनि पाउँछ’, सभापति देउवाले भने ।

सभापति देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको बताएका छन् । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको उनले बताए ।
सभापति देउवाले भने, ‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन् ।’
सभापति देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गरेका छन् । उनले कांग्रेसको संगठन निर्माणमा जोड दिएका छन् ।
कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ, प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू उदयशम्शेर राणा, जीतजंग बस्नेत, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया