भारत भ्रमण कुटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारत भ्रमण कुटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छिन् ।

शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा.एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेटवार्ता भयो । राइसिना डायलगमा पनि सम्बोधन भयो ।’

परराष्ट्रमन्त्री डा.राणाले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने बताएकी छिन् । उनले भनिन्, ‘यस विषयमा त भारतमा कुनै कुरा भएन तर, पनि हामीले देखिरहेकै छौँ कि भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।’

‘त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेँ’, उनले भनिन्, ‘त्यसैले नेपालको कुटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।’

परराष्ट्रमन्त्री डा.राणाले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरू तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् ।

डा.राणाले भनिन्, ‘भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतवीच रहेको विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु ।’

डा.राणाले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको बताएकी छिन् ।

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता भएकी छिन् ।

Published : Friday, 2025 March 21, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया