यो संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधानले दलहरूले बहुमत ल्याउन नसक्ने बताएका छन् ।
बुधबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा डेमोक्रेटिक लयर्स एशोसिएसन र कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको बागमती प्रदेशस्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै देउवाले अत्यन्तै राम्रो संविधान भए पनि दलहरूको बहुमत आउन कठिन रहेको बताए ।
उनले भने, ‘अहिलेको संविधान छ । अत्यन्तै राम्रो संविधान छ । समावेशी, समानुपातिक आधारमा बनेको संविधान हो । यो संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यस कारण कुनै पनि पार्टीसँग मिल्नुपर्ने आवश्यक्ता छ ।’
‘त्यसैले हाम्रो पार्टीले धेरै मेहनतका बाबजुद पनि सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत प्राप्त गर्न सकेको छैन’, सभापति देउवाले भने, ‘पार्टीको दोषभन्दा पनि संविधान यस्तो किसिमको छ की जसमा धेरै गाह्रो छ । यो गाह्रोलाई पनि हामी जुझेर बहुमत ल्याउने प्रयत्न गर्नु पर्दछ ।’
सभापति देउवाले अहिलेको संविधानले महिलालाई ३३ प्रतिशत अधिकार दिएको भन्दै स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक पद अनिवार्य रुपमा दिनै पर्ने व्यवस्था गरिएको बताए । उनले संविधानमा समावेशी र समानुपातिक अधिकार दिएको बताए ।
उनले भने, ‘महिलाको सम्बन्धमा नेपालमा ३३ प्रतिशत महिलालाई आरक्षण दिएको छ । नेपालमा प्रमुख र उपप्रमुख, चाहे गाउँपालिका होस्, चाहे नगरपालिका होस्, सबै ठाउँमा प्रमुख, उपप्रमुखमा एउटा महिला अनिवार्य नै भएको छ ।’
‘यस मानेमा महिलाहरूलाई प्रत्यक्षत राज्य प्रशासनमा जिल्ला, गाउँदेखि लिएर सबै पालिकाहरूमा पनि प्रत्यक्ष सहभागिता हुने ठूलो मौका मिलेको छ’, कांग्रेस सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया