होलीले मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली)को अवसरमा शुभ–कामना व्यक्त गरेका छन् ।

बिहीबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर होली पर्वको अवसरमा शुभकामना दिएका हुन् । उनले नेपालको हिमाल, पहाड र तराईका जिल्लामा अत्यन्त हर्षोल्लासका साथ एकअर्कालाई रङ्ग लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्व (होली)को पावन अवसरमा शुभकामना व्यक्त गरेको जनाएका छन् ।

सभापति देउवाले भने, ‘फागु पर्व (होली) मा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको छ ।’

‘यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ’, उनले भने, ‘फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो ।’

‘अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ’, सभापति देउवाले भने ।

उनले भने, ‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु ।’

Published : Thursday, 2025 March 13, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया