रास्वपाका सांसदले कांग्रेसलाई हावादारी लाञ्छना लगाएपछि बजगाईंद्वारा संसदभित्रै विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाली कांग्रेस पार्टीविरुद्ध हावादारी लाञ्छना लगाएपछि कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिवाद गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले ‘कांग्रेसले काठमाडौं क्षेत्र नं. ६ अन्तर्गत पर्ने मासाघाट कब्जा गरेको’ भनेर आक्षेप लगाएका थिए । कांग्रेस सांसद बजगाईंले तत्कालै संसदमा उभिएर आपत्ति जनाएका छन् । उनले रास्वपाका सांसद शिशिर खनाललाई औकातमा बस्न र कांग्रेस पार्टीमाथि लगाएको हावादारी लाञ्छनाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

कांग्रेस सांसद बजगाईंले भने, ‘माननीय शिशिर खनालले संसदमा काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने मासा कांग्रेसले कब्जा गरेको भन्दै सन्देश प्रसार गर्नुभयो । उहाँको युवावस्था नेपाली कांग्रेसप्रति गहिरो समर्पण रहेको थियो ।’

‘वहाँ अनभिज्ञ होइन कांग्रेसको सिद्धान्तले सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याइनुपर्ने ठान्छ’, सांसद बजगाईंले भने ।

रास्वपाका सांसद शिशिर खनाललाई सचेत गराउँदै कांग्रेस सांसद बजगाईंले भने, ‘सरकारी जमीन हडप्ने कैयन् मुद्दाहरू किन खारेज गरिए भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ । म यो स्वीकार गर्छु । कांग्रेसभित्र पनि यस विषयमा विरोध भइरहन्छ ।’

‘नेपालको कुनै पनि राजनीतिक दलभन्दा कांग्रेसभित्र आन्तरिक लोकतन्त्र अझै बलियो रहेको देखिन्छ’, बजगाईंले भने, ‘सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने कुनै व्यक्ति कांग्रेसमा टिक्न सक्दैन, किनभने यो दलभित्र गलत कामको विरुद्ध विद्रोह गर्ने परम्परा छ ।’

कांग्रेसका सांसद बजगाईंले भनेका छन्, ‘कांग्रेस एक नदी हो । धमिलो पानी सङ्लिन्छ ।’

Published : Wednesday, 2025 March 12, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया