हाम्रो पार्टी सबैभन्दा ठूलो भएपनि बहुमत हामीसँग छैन : सभापति देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमति एमालेसँग रहेको बताएका छन् ।

सोमबार कैलालीको धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कांग्रेस–एमाले सहकार्य भएपनि दुबै दलले एकअर्कालाई प्रतिस्पर्धी रुपमा हेरिरहेको बताए ।

उनले भने, ‘अहिलेको एमाले पार्टी नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्षपछि छोड्नु हुनेछ । मलाई प्रधानमन्त्री बनाउने उहाँहरूले सहमति गर्नु भएको छ ।’

‘मुख्य प्रतिस्पर्धी पार्टी कोही हो भने एमाले हो’, सभापति देउवाले भने, ‘एमालेको पनि मुख्य प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस हो ।’

सभापति देउवाले विगतमा पनि सबैको सहयोगले प्रधानमन्त्री भएको बताए । फेरि प्रधानमन्त्री बन्न पनि सबैको साथ आवश्यक रहेको उनले बताएका छन् ।

सभापति देउवाले पार्टीभित्रको अन्तर्घातले समस्या सृजना गरिरहेको बताएका छन् । उनले पार्टीभित्रको अन्तर्घात अन्त्य गर्नुपर्ने बताए । देउवाले भने, ‘पार्टीभित्र अन्तर्घात भन्ने रोग लागेको छ । त्यसका लागि सादा सदाका लागि निर्मूल गर्नुपर्छ ।’

सभापति देउवाले भने, ‘पार्टीभित्र लड्ने हो । भोट हाल्ने बेलामा एक भएर पार्टीलाई जिताउने गरि लाग्ने हो त्यसरी लागे मात्रै पार्टी अगाडि बढ्छ ।’

सभापति देउवाले कांग्रेस ठूलो पार्टी भए पनि एक्लै सरकार बनाउन बहुमत नरहेको बताए । ‘हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी भएपनि बहुमत हामीसँग छैन’, देउवाले भने, ‘भोलि पनि हुने सम्भावना कम छ ।’

‘कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत नभएको हुँदा कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ’, उनले भने ।

सभापति देउवाले भने, ‘एक भएर लागे हाम्रो पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्छ ।’

कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सबै नेता कार्यकर्तालाई मतभेद र असहमति अन्त्य गर्दै अगाडि बढ्न सभापति देउवाले आह्वान गरेका छन् ।

Published : Monday, 2025 March 10, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया