तरुण साथीहरूले अधिवेशनको कार्यतालिकाअनुसार कार्यसम्पादन गर्नुस् : अध्यक्ष गुरुङ

हेटौँडा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाधिवेशन निर्धारित समयमा हुने बताउँदै कार्यतालिकाअनुसार कार्यसम्पादन गर्न तरुणहरूलाई निर्देशन दिएका छन् ।

उनले तरुण दलको पाचौँ महाधिवेशन चैत मसान्तभित्र गरिसक्ने बताए । सोमबार हेटौँडामा नेपाल तरुण दल मकवानपुर जिल्ला कार्यसमितिको बैठकमा बोल्दै गुरुङले तरुण दलमा जोडिएका नयाँ साथीहरूलाई आउँदा दिनमा योग्यता र क्षमताका आधारमा अवसर प्राप्त हुने बताए ।

केही अदृष्य तत्वहरूको उक्साहटमा विभिन्न राजनीतिक दलहरू अहिले अनेकौं बहानामा गणतन्त्रविरुद्ध षडयन्त्र गरिरहेको अध्यक्ष गुरुङले बताए । उनले तरुणहरू सतर्क रहनुपर्ने अवस्था आएको बताएका छन् ।

अध्यक्ष गुरुङले केन्द्रको प्रारम्भीक र पूर्णकालीन फारम भरी द्रुतगतिमा केन्द्रमा पठाउन निर्देशन दिएका छन् । गुरुङले पूर्णकालीन फारमहरू मकवानपुर तरुण दलका अधिवेशन संयोजक ईश्वर पाठकलाई प्रदान पनि गरेका छन् ।

उनले महाधिवेशनको विषयमा आशंका नगरी वडा तहदेखिनै युवाहरूलाई केन्द्रित गरि पूर्णकालीन फारम वितरण गर्न निर्देशन दिए । उनले नेपाली कांग्रेस जिल्ला कार्यसमिति र जिल्लामा रहेका तरुण दलका केन्द्रीय सदस्यहरूसँग समन्वय गरि फारमहरू वितरण गर्नुपर्ने बताए ।

बैठकमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पूर्णकालीन सदस्यता फारम वितरणदेखि जिल्ला अधिवेशनसम्म तरुण दललाई सहयोग गर्ने बताए ।

अधिवेशन संयोजक ईश्वर पाठकले अधिवेशनका लागि आवश्यक उपसमितिहरू गठन गरिने बताए । उनले तत्काल फारम वितरण कार्य सुचारु गर्ने र केन्द्रमा पठाउने बताए ।

बैठकमा तरुण दल केन्द्रीय सदस्यहरू सरिन घिमिरे, राजेश भेट्वाल, सुनिल दाहाल लगायतले अधिवेशनको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

Published : Monday, 2025 March 10, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया