कांग्रेसद्वारा मिसन रोजगारीको अभियान सञ्चालन

काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’को अभियान स्वरुप छलफल गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरोकारवाला, पार्टीका नेता, कार्यकर्तासँग छलफल गरेका छन् ।

कांग्रेसले अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गर्नेछ । रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाइनेछ ।

महामन्त्री थापाले राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको बताएका छन् ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिनेछ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् । आन्तरिक समूहमा अनुसन्धानकर्ता, विज्ञ, इन्टर्न, पार्टीका विभिन्न विभाग र संयन्त्र सम्मिलित हुनेछन् ।

अर्थविद् विश्व पौडेल, श्रम मन्त्रालयका पूर्वसचिव केवल भण्डारी, अनुसन्धानकर्ता एवं प्राध्यापक डा.कुशुम शाक्य सीटीईभीटीका सदस्यसचिव महेश भट्टराई, व्यवसायी नीरञ्जन श्रेष्ठलगायतले छलफलमा भाग लिएका छन् । स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने गरी कांग्रेसले कार्यक्रम गरिसकेको छ ।

Published : Sunday, 2025 March 9, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया