सभापति देउवाको स्वागतमा राखिएका कांग्रेसको झण्डा माओवादी-रास्वपाका विद्यार्थीले फालिदिए

धनगढी । कैलालीको धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झण्डा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विद्यार्थीले च्यातेर फालिदिएका छन् ।

आइतबार सडकमा उत्रिएका माओवादी र रास्वपाका विद्यार्थी नेता, कार्यकर्ताले सडकमा राखिएका कांग्रेस र नेविसंघका झण्डाहरू हटाइर फालिदिएका हुन् ।

सभापति देउवा सोमबरदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीले सडक क्षेत्रमा कांग्रेसको झण्डा राखेका थिए ।

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा सडकमा उत्रिएका माओवादी र रास्वपाका विद्यार्थीले कांग्रेसको झण्डा फालिदिएका हुन् ।

कांग्रेसको झण्डा च्यात्ने, हटाउने र फाल्ने हर्कतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायतका विद्यार्थी रहेको आरोप नेविसंघले लगाएको छ ।

माओवादी र रास्वपाका विद्यार्थीले कांग्रेसको झण्डा फाल्न र हटाउन खोज्दा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध पनि भएको छ ।

Published : Sunday, 2025 March 9, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया