महिलाहरू सक्रिय छन्, जिम्मेवारी पाउनेवित्तिकै नेतृत्व लिन तयार छन् : कांग्रेस प्रवक्ता डा.महत

हलेसी । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले महिलाहरू राजनीतिमा सक्रिय रहेको भन्दै नेतृत्व लिन तयारी अवस्थामा रहेको बताएका छन् ।

शनिबार खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले राजनीतिमा नेतृत्व लिन महिलाहरू तयारी अवस्थामा रहेको बताए । उनले महिलाहरूले अवसर पाउँदा नेतृत्व गर्न सक्छन् भन्ने थुप्रै उदाहरणहरू रहेको बताए ।

डा.महतले भने, ‘भोलिका दिनमा महिलालाई एकतिहाई मात्रै होइन । बराबरी मात्रै होइन । ५० प्रतिशतभन्दा ज्यादा राजनीतिक प्रतिनिधित्व महिलाहरूको हुन्छ । नेपालमा त्यो बाटोमा हामी हिँडिसक्यौँ ।’

‘महिलाहरू सक्रिय छन् । जिम्मेवारी पाउनेवित्तिकै नेतृत्व लिन तयार छन् । महिला सशक्तीकरणको पक्षमा हाम्रो नेपाली कांग्रेस पार्टी छ’, डा.महतले भने ।

‘आउँदो दिनमा महिलाहरूको सहभागिता राजनीतिमा बढाउँदै जाने छौँ’, उनले भने, ‘आर्थिक, राजनीतिक, सामाजिक र रोजगारीको क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढाउने छौँ ।’

डा.महतले गाउँलाई महिलाहरूले बचाएर राखेको बताएका छन् । उनले भने, ‘युवाहरू विदेशिएका छन् । खास गरि पुरुष । महिलाहरूकै कारण गाउँ बचेको छ । महिला नहुने हो भने गाउँको विकास सम्भव थिएन । महिलाहरूको भूमिकाको प्रशंसा गर्नुपर्छ ।’

कांग्रेस प्रवक्ता डा.महतले हलेसीको महत्वअनुसार प्रचार नपुगेको बताएका छन् । उनले भने, ‘यति पवित्र ठाउँ अन्यत्र पाइँदैन । हलेसी किराँत, हिन्दु र बौद्ध धर्मालम्बीहरूको धार्मिकस्थल हो । हलेसीको विकासका लागि हामी सबै लाग्नुपर्छ ।’

डा.महतले हलेसी तुवाचुङ नगरपालिकाको मेयर विमला राईले क्षमताका साथ नेतृत्व बहन गरेको भन्दै प्रशंसा गरेका छन् । उनले भने, ‘महिला सशक्तीकरणको आन्दोलन मेयर विमला राईको नेतृत्वमा चलिरहेको छ ।’

कार्यक्रममा कांग्रेस नेतृ समेत रहेकी मेयर विमला राई, नेतृ सरस्वती बजिमय लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2025 March 8, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया