उर्जामन्त्री खड्काले बोले कुलमानको कर्तुतहरू, काँधमा नबोक्न माओवादीलाई चेतावनी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एउटा कर्मचारीलाई काँधमा बोकेर नहिँड्न नेकपा (माओवादी केन्द्र)सहितका दलका सांसदहरूलाई आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै मन्त्री खड्काले कर्मचारीलाई काँधमा नबोक्न सांसदहरूलाई आग्रह गरेका हुन् । उनले भने, ‘गाउँघरमा भनाइ छ; बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ । त्यस्तै नहोस् ।’

मन्त्री खड्काले कुलमानको विषयमा जति खोतल्यो उती नै भ्वाङ पर्ने बताएका छन् । उनले भने, ‘सबैले राम्रो काम गर्नुभएको छ भन्नुभयो, होला भनेर म पनि उहाँसँग खुशी नै थिएँ, उत्साहित नै थिएँ । जति खोतल्यो उति भ्वाङ पर्छ ।’

मन्त्री खड्काले यसबारेमा अहिले प्रमुख प्रतिपक्षी रहेको दलका ठूला नेतालाई पनि थाहा भएको बताएका छन् । उनले भने, ‘उहाँहरूलाई राम्रो ज्ञान छ । खुलेर नभन्नुभएको मात्रै हो । उहाँहरूलाई पनि खुलेर भन्न आग्रह गर्छु ।’

मन्त्री खड्काले राम्रो कामका लागि पुरस्कृत गर्न पनि आफू तयार भएको बताए । राष्ट्रपतिदेखि जनतासम्म सबैले नियम कानून मान्नुपर्ने विद्युत प्राधिकरणका एउटा कर्मचारीले नियम कानून मान्नु नपर्ने ? भनेर मन्त्री खड्काले प्रश्न गरेका छन् ।

उनले आफू मन्त्री भएपछि पनि राम्रो काम गरे पूर्ण सहयोग गर्ने भनेर पटकपटक भनेको बताए । ‘बीसौं पटकभन्दा बढी भनेँ । छलफल नगरेको होइन’, मन्त्री खड्काले भने, ‘मसँग उहाँको व्यक्तिगत केही छँदै छैन ।’

उनले भने, ‘लोडसेडिङ अन्त्य कसरी भएको थियो पूर्वऊर्जामन्त्रीहरूलाई राम्रो ज्ञान छ । लोडसेडिङको अन्त्य हुँदैगर्दा हामीहरूले भारतबाट चार सय ५० मेगावाट विद्युत आयत गरेका थियौं ।’

‘तत्कालीन अवस्थामा नेपालको आवश्यकता ४२५ मेगावाटको थियो’, उर्जामन्त्री खड्काले भने, ‘हाम्रो आवश्यकता पूरा गरिदिएकोमा बरू भारतलाई धन्यवाद दिऔं ।’

मन्त्री खड्काले लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जानुपर्ने बताए । उनले अहिलेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मन्त्रिपरिषदमै निर्णय भएर बिजुली खरिद गरिएको बताएका छन् ।

मन्त्री खड्काले भने, ‘लोडसेडिङ उहाँ (कुलमान घिसिङ) एक्लैले गरेको होइन । उहाँले राम्रा गरेका काममा धन्यवाद दिन सकिन्छ ।’

उर्जामन्त्री खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई शून्य अंक दिनुपरेको बताएका छन् । खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताए ।

मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानूनभन्दा माथि कोही हुन नसक्ने बताए । आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भए पनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए । उनले प्राधिकरणले उठाउन नसकेको बक्यौतालाई आधार मानेर नाफा देखाएको बताए ।

प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको मन्त्री खड्काले बताए ।

मन्त्री खड्काले प्रक्रिया नै पूरा नगरी भारतसँग विद्युत् खरिदको सम्झौता गरेको बताए । उनले कुलमानका कारण नभई भारतबाट सहजरुपमा विद्युत् आपूर्तिका साथै मुलुकमा विद्युत आयोजनाबाट थप विद्युत् उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।

यसैबीच, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको छ ।

बिहीबार पत्राचार गर्दै मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार सफाइ पेस गर्न आग्रह गरेको हो । मन्त्रिपरिषदमा तीन दिनभित्र सफाइ पेस गर्नुपर्ने पत्रमा उल्लेख छ ।

Published : Thursday, 2025 March 6, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया