अहँकारी कुलमानसँग स्पष्टीकरण माग, दाङका डा.देवकोटाको बढुवा र खरेल सल्लाहकार

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । घिसिङले सरकारलाई निकै असहयोग गरिरहेका छन् । घिसिङको अहँकार र घमण्डका कारण सरकारलाई काम गर्न असहज भइरहेको छ ।

उर्जा मन्त्रालयले घिसिङलाई दुईपटक स्पष्टीकरण सोधिसकेको छ । घिसिङले कार्यसम्पादन सम्झौता नबुझाएको भन्दै मन्त्रालयले उनलाई शून्य अंक दिएको थियो ।

घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता अनुसार भदौ महिनाभित्र मन्त्रालयको समिति मार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन् ।

मन्त्रालयले स्पष्टीकरण सोधेको चार दिनपछि उनले मन्त्रालयमा कार्यसम्पादन विवरण बुझाएका थिए । त्यो विवरणमा आफूले गरेका कामलाई आफैंले मूल्यांकन गरी ९८.९९ अंक पाएको दाबी गरेका छन् ।

यसैबीच, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । दाङ जिल्ला निवासी डा.देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।

२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् ।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

त्यसैगरी, मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गरेको छ । खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । खरेलको स्थायी ठेगाना झापाको गौरादहमा पर्छ ।

०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानूनमन्त्री थिए । खरेल एमालेको स्थायी कमिटी सदस्य छन् ।

Published : Wednesday, 2025 March 5, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया