स्वच्छ छविका मन्त्री र अधिकारी मिलेर प्राधिकरणलाई डल्लो पारे, महानिर्देशकमा दोहोरिन चलखेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणलाई उथलपुथल बनाएर ‘डल्लो’ पारेका छन् ।

नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भनेर युरोपियन युनियनले कालोसूचीमा राखेको छ । प्राधिकरणलाई विभाजन गर्न लामो समयदेखि युरोपियन युनियन र हवाई क्षेत्रका विज्ञहरूले सुझाव दिँदै आएका छन् । तर, अधिकारीले प्राधिकरण विभाजन हुन नदिन अहिले पनि चलखेल गरिरहेका छन् । मन्त्री पाण्डेले आफूलाई स्वच्छ छवि भन्न रुचाउँछन् । अनि स्वच्छ छविको मन्त्रीले अधिकारीमाथि निक यसरी रुचि देखाएका छन् प्रश्न उठेको छ । मन्त्री पाण्डे केही दिनेपछि विदेश भ्रमणमा जान लागेका छन् । त्योभन्दा अगाडि नै अधिकारीलाई १२ तहमा बढुवा गरि महानिर्देशक पदमा दोहोराउन चाहेका छन् ।

विवादास्पद अधिकारी प्राधिकरणको महानिर्देशकमा दोहोरिन अर्को चलखले गरिरहेको तथ्य बाहिर आएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभावमा पारेर ११औं तहबाट अधिकारीले महानिर्देशक पद हत्याएका थिए । उनलाई अहिले त्यहि पद १२औँ तहमा बढुवामा हुन घाँडो भएको छ । महानिर्देशक अधिकारीलाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र पूर्व संस्कृति, पर्यटनमन्त्री जीवनबहादुर शाहीले संरक्षण गरेका छन् ।

११ तहबाट १२ तहमा बढुवा हुने हो भने कानूनअनुसार अधिकारीको महानिर्देशक पद फुत्किन्छ । अधिकारीले मन्त्री पाण्डे र पर्यटन मन्त्रालयका सह–सचिव रामकृष्ण लामिछानेलाई प्रभावमा पारेर बढुवा हुन खोजेको आरोप प्राधिकरणका इमान्दार कर्मचारीहरूले लगाएका छन् ।

मन्त्री पाण्डेले बिहीबार प्राधिकरणको सिनामंगलमा रहेको कार्यालयमा दिनभरि महानिर्देशक अधिकारीको कार्यकक्षमा बसेर बेलुकातिर फर्किएका छन् । मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच १२औँ तहमा बढुवा कसरी र ? कुन जुक्तिले हुने भनेर दगलफसल भएको बुझिएको छ । आफ्नो मन्त्री पदको हैसियत भुलेर महानिर्देशक अधिकारीलाई भेट्न प्राधिकरणको कार्यालयमा पटक पटक पुग्ने गरेका छन् ।

पोखरा नागरिक उड्डयन कार्यालयमा कार्यरत उपमहानिर्देशक नवीना कर्माचार्य पुस ५ गते अवकाश भएपछि १२ तहमा १ पद रिक्त छ । सो पदमा उक्लिनका लागि ११ तहबाट महानिर्देशक अधिकारीले सबै खालको जोडजुलुम गरेका छन् ।

प्राधिकरणको सेवाका सर्त र सुविधा सम्बन्धि नियमावली २०६५ को नियम ३.३ को उपनियम १ बमोजिम प्राधिकरणको सेवामा रिक्त रहेका पदमा उपयुक्त उम्मेदावारको छनौट गरि नियुक्तिको लागि सिफारिस गर्न गठन हुने पदपूर्ति समितिमा हालका माहनिर्देशक अधिकारीलाई महानिर्देशकबाट १२ तहमा बढुवा गर्न उपमहानिर्देशक प्रेमनाथ ठाकुरको अध्यतामा गठित पदपूर्ति समितिमा मन्त्रालयको प्रतिनिधिका रुपमा पर्यटन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रामकृष्ण लामिछाने सदस्यका रुपमा छन् ।

समितिले पुसको अन्तिम साता बैठक बसी बढुवा हुनेहरूको नाम लिस्ट तयार गर्ने र सिफारिस गर्ने समयमा समितिमा महानिर्देशकलाई १२ तहमा बढुवा गर्ने नियम नभएको, उजुर बाजुर लाग्ने र अख्तियार, सर्तकता केन्द्र मार्फत छानविन हुने भनि व्यापक छलफल र विवाद भएको थियो । मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले ‘म उपसचिव हुँदा २ वर्षभन्दा बढि अख्तियार बसेर आएको हुँ, अख्तियार, लोकसेवा कसैले केही गर्न सक्दैन, प्रदीप अधिकारीलाई जसरी पनि १२ तहमा बढुवा गर्नुपर्छ’ भनेर समितिलाई दवाव दिइ सिफारिस गर्न लगाएको स्रोतले जनाएको छ ।

नियमावलीको ६.१४ अनुसार १२ तहमा बढुवा गर्न पदपूर्ति समितिले कार्यसम्पादन क्षमताको आधारमा रिक्त पदको उपलब्ध भएसम्म तेब्बर संख्यामा सम्भावित उम्मेदवारमध्येबाट कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढि अंक प्राप्त गर्नेहरूलाई सिफारिस गर्नेछ भन्ने नियममा उल्लेख छ ।

आफूभन्दा वरिष्ठ १२ तहका ६ जनालाई उछिनेर प्रदीप अधिकारी २०७८ साल माघमा ११ तहबाट महानिर्देशक भएका थिए । नियमावलीको नियम ३.१ को उपनियम ६ मा प्राधिकरणको सेवामा बहाल रहेको कुन पनि कर्मचारी महानिर्देशक पदमा नियुक्त भएमा निज बहाल रहेको पदको पदाधिकार स्वतः समाप्त हुनेछ र निजको पदाधिकार पुल दरबन्दीमा स्थानान्तरण हुनेछ भन्ने नियममा रहेको छ ।

११ तहको कार्यसम्पादन मूल्यांकन गर्दा विनोद न्यौपाने पहलो नम्बर, बाबुराम पौडेल दोस्रो नम्बरमा छन् । प्रदीप अधिकारीको ११ तहमा कार्यरत १ वर्षको मात्र कार्यसम्पादन मूल्यांकन रहेको र ३ वर्षको कार्यसम्पादन मूल्यांकन महानिर्देशक पदको देखाई २ वटा पदको कार्यसम्पादन मूल्यांकन जोडी १२ तहमा बढुवाका लागि तेस्रो नम्बरमा सिफारिस भएका प्रदीपक अधिकारीले चलखेल गरेका हुन् ।

हाल प्रचलित कुनै पनि नियममा ११ तह र महानिर्देशक गरि २ तहको कार्यसम्पादन मूल्यांकन जोडी बढुवा हुने नियम कहिँ कतै पनि छैन । यसरी कहिँ कतै नियममै नभएको बढुवा प्रक्रियालाई अगाडि बढाउनु प्रदीप अधिकारीले पर्यटनमन्त्री पाण्डे, प्राधिकरणको पदपूर्ति समितिका सदस्य एवम् पर्यटन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेलाई प्रलोभन देखा समितिबाट बढुवाका लागि प्राधिकरणको बोर्ड समक्ष सिफारिस गर्न लगाएको आरोप छ ।

माघको अन्तिम साता प्राधिकरणको बोर्डको बैठक मन्त्री पाण्डेको अध्यक्षतामा बसेको थियो । बोर्डका सदस्य सचिवमा महानिर्देशक रहनेमा महानिर्देशककै १२ तहमा बढुवा गर्ने एजेण्डा रहेकाले १२ तहमा हाल कार्यरत रहेकामध्ये तेस्रो जुनियर उपमहानिर्देशक हंसराज पाण्डेलाई सदस्य सचिव बनाई बैठक राखिएको थियो ।

बोर्डको बैठकमा पर्यटन मन्त्रालयको प्रतिनिधिको रुपमा सहभागी प्राधिकरणको भलो चिताउने सहसचिव इन्दु घिमिरेले महानिर्देशकलाई १२ तहमा बढुवा गर्न नमिल्ने प्रचलित ऐन नियमले नदिने लोकसेवा आयोग तथा काून समेतको राय लिन पर्ने भनेका थिए । सहसचिव घिमिरेले मन्त्री पाण्डेले प्रस्ताव गरेको एजेण्डामा अडान राखेपछि बैठकमा विवाद भइ प्रदीप अधिकारीलाई बढुवा नगरी स्थगित भएको थियो । आफूलाई बढुवा गर्न नानाभाँती कानूनको कुरा गरेको भन्दै महानिर्देशक अधिकारीले सहसचिव घिमिरेलाई सरुवा गरिदिन लागेको मन्त्रालयमा चर्चा छ ।

प्राधिकरणको नियमअनुसार ११ तहबाट १२ तहमा बढुवा हुन लगातार ४ वर्षको कार्यसम्पादन मूल्यांकन सबैभन्दा बढि अंक प्राप्त गरेको हुनुपर्छ । तर, प्रदीप अधिकारीको हकमा ११ तहबाट महानिर्देशकमा नियुक्त भएपछि निजको ११ तह समाप्त भएको र महानिर्देशकको कार्यसम्पादन मूल्यांकन जोडी तहमा बढुवाका लागि सिफारिस समितिबाट तेस्रो नम्बरमा सिपारिस भएको र नियम विपरितको सिफारिस त्यो पनि कनिस्टलाई बढुवा गर्न ठूलै चलखेल भएको प्राधिकरणको कर्मचारीहरूको ठहर छ ।

प्राधिकरणका इमान्दार राष्ट्रसेवक कर्मचारीहरूले मन्त्री पाण्डे र महानिर्देशक अधिकारी तथा सहसचिव रामकृष्ण लामिछानेमाथि सुक्ष्म ढंगले अनुसन्धान गर्नुपर्ने माग गर्न थालेका छन् । बढुवा प्रकरणमा उनीहरूले मन्त्री पाण्डे, महानिर्देशक अधिकारी र सहसचिव लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा उजुरीहरू समेत हालेका छन् । मन्त्री पाण्डेले बानेश्वरमा ३ करोडमा घर खरिद गरेको चर्चा पनि प्राधिकरणभित्र व्यापक चलेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्बौंको घोटालामा महानिर्देशक अधिकारीसहितका उच्च तहका कर्मचारीहरूले बयान दिएर हालत खराब भएको छ । अख्तियारबाट बचाउन आग्रह गर्न र महानिर्देशक पदमा दोहो¥याइदिन माग लिएर अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा महानिर्देशक अधिकारी आफ्ना केही आसेपासेलाई लिएर प्रधानमन्त्री केपी ओलीलाई केही दिन अगाडि बालुवाटारमा भेट गरेका थिए । तर, प्रधानमन्त्री ओलीले अधिकारीको कुरालाई बेवास्ता गरिदिएको स्रोतले जनाएको छ । ओलीले अधिकारीलाई राम्रो काम गर्नुभएको छभने पनि महानिर्देशक पदमा दोहो¥याउने विषयमा कुनै जवाफ दिएका छैनन् ।

Published : Friday, 2025 February 28, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया