वीरमा २ सिफ्ट शल्यक्रिया हुने, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालित वीर अस्पतालले दैनिक दुई समयमा शल्यक्रिया गर्ने तयारी गरेको छ ।

वीर अपस्तालमा १ हप्ताभित्र दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताएका छन् । ‘अहिले एक सिफ्टमा भैरहेको छ’, डा.गौतमले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’

डा.गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरू थपिएको बताएका छन् । उनले भने, ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं । बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पु¥याइसकेको बताएका छन् । ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ’, डा.गौतमले भने, ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’

वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको छ । सरसफाइको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक डा.गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म डा.गौतमलाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् । मन्त्री पौडेलको निर्देशनपछि डा.गौतमले वीर अस्पतालमा सुधारका कार्यहरू गर्न थालेका छन् ।

Published : Thursday, 2025 February 27, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया