कांग्रेस सांसद जबराद्वारा कान्ति लोकपथको अन्तिम विन्दु टीकाभैरव प्रस्ताव, लिङ्क रोड २ वटा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर जबराले कान्ति लोकपथको अन्तिम विन्दु ललितपुरको टीकाभैरवलाई बनाइ दुई वटा पहुँच सडकबाट रिङरोडमा जोड्नुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद जबराले कान्ति लोकपथ अबको दुई वर्षभित्र सम्पन्न हुने तयारीमा रहेको बताए । उनले सडकमा पर्ने घरहरूलाई उपयुक्त मुआब्जा दिएर सडक विस्तार गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकारले कान्ति लोकपथ बाटोको निम्ति २ अर्ब ५२ करोड रुपियाँ छुट्टएको छभन्ने खबर पाएका छौँ । यो बाटोले हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म निर्माणको क्रममा छ । दुई वर्षभित्र यो बाटो पूरा हुने सम्भावना पनि छ ।’
‘विशेष गरेर यस वर्ष वर्षातको कारणले वीपी राजमार्ग बन्द भएको कारण आधा बनेको कान्ति लोकपथ धेरै साथीहरू दशैंमा घर जाँदा पूर्वका साथीहरू कान्ति लोकपथ प्रयोग गर्नुभएको छ’, उनले भने ।
‘कान्ति लोकपथ राम्रोसँग बनिसकेपछि टीकाभरैवदेखि वीरगञ्ज जोड्नको निम्ति १३० किलोमिटर छ । त्यो १३० किलोमिटर दुई घण्टा ३० मिटनमा हामी पुग्न सक्छौँ । टीकाभैरवदेखि रिङरोडसम्म आउनको निम्ति दश किलोमिटर दुरी छ । त्यसलाई पार गर्न लगभग ४५ मिनटदेखि १ घण्टा लाग्छ । ट्राफिकका कारण प्रत्येक दिन त्यो समय बढ्दै गएको छ’, सांसद जबराले भने ।
‘२०७० सालमा यसलाई राष्ट्रिय राजमार्गको रुपमा अगाडि बढाइसकेपछि हेटौंडा चोक–बगवा मकवानपुर, टीकाभैरव, चापागाउँ, सुनाकोठी हुँदै सातदोबाटोमा आउँथ्यो’, उनले भने, ‘२०७६ सालमा त्यो रुटलाई परिवर्तन गरेर टीकाभैरवबाट भैंसेपाटी हुँदै एकान्तकुना आउने रुट बनाइएको छ ।’
पूर्वअर्थराज्यमन्त्री समेत रहेका कांग्रेस सांसद जबराले भने, ‘भैंसेपाटी, छम्पीका साथीहरूले यो बाटो यहाँबाट किन ल्यायो भनेर विरोध छ । चापागाउँ, सुनाकोठीका, ठेचोँका साथीहरूले हाम्रो अगाडिबाट राजमार्ग जाँदै थियो त्यसलाई किन हटाइयो ? भन्ने गुनासो । म २०७६ सालमा सांसद थिइन् ।’
उनले भने, ‘छम्पी, भैंसेपाटी बाटोको मापदण्ड ६२ मिटर कायम गरेको छ । त्यो मापदण्ड कायम भयो भने लगभग भैंसेपाटी, छम्पी एरियाको बाटो वरिपरीको घरहरू भत्किने परिस्थिति हुन्छ । त्यो गर्न सम्भव छैन । हामीलाई पनि थाहा छ । त्यो कारणले स्थानीयको नक्सा पास पनि भएको छैन । स्थानीयले लालपुर्जा बोकेर बैंकमा जाँदा धितोका रुपमा प्रयोग गर्न सकिदैन ।’
‘बिरोधमा बिरोध मात्रै गरेर हुँदैन । सुझाव पनि दिनुपर्छ । यो बाटोलाई राम्रोसँग चलाउनको निम्ति मेरो प्रस्ताव के छ भने ? अहिले जिरो प्वाइन्ट हेटौँडाबाट शुरु भएर अन्तिम विन्दु टीकाभैरवमा राखेर यो दुई वटा बाटो चापागाउँ, सुनाकोठी, सातदोबाटो तथा छम्पी, भैंसेपाटी, एकान्तकुना बाटोलाई पहुँच मार्गको रुपमा प्रयोग गरियो भने बाटो सञ्चालन गर्न पनि सजिलो हुन्छ’, जबराले भने, ‘दुबैलाई २० देखि २२ मिटरसम्मको बाटो बनाउँदा उपयुक्त हुन्छ ।’
उनले भने, ‘ठेचो र चापागाउँमा अहिले घरको क्षतिपूर्ति पनि सरकारले दिइसकेको छ । यसको पनि क्षतिपूर्ति २०७७ सालमा दिने क्रममा डिप्रेशन काटेर दिने भनेको छ । डिप्रेशन काटेर दिइयो भने त्यसमा खासै नागरिकले घर गुमाए पनि केही पैसा पाउँदैनन् । केही वर्ष अगाडि १५÷२० घरलाई क्षतिपूर्ति दिइसकिएको छ । कसैलाई दिने, कसैलाई नदिने भन्ने हुँदैन ।’
गोदावरीमा रहेको सभा हलसम्म पुग्न सडक साँघुरो रहेका कारण सवारी आवागमनमा समस्या भएको सांसद जबराले बताएका छन् ।
उनले भने, ‘गोदावरीमा सभा हल बनाइएको छ । त्यहाँ जाँदा ट्राफिक जाम हुन्छ । साँघुरो बाटो छ । हरिसिद्धि, ठैब, बाडेगाउँमा १०÷१२ घरलाई व्यवस्थापन गर्न सकियो भने त्यो बाटो २० देखि २२ मिटरको बनाउन सकिन्छ ।’
वर्षातका कारण फुल्चोकीतिर सडक भत्किएको बताउँदै जबराले सडक व्यवस्थित गर्न माग गरेका छन् । उनले सहायक बाटोहरूको मर्मत सम्भार गर्न सरकारसँग आग्रह गरेका छन् । ललितपुर र काभ्रेका अधिकांश पालिकाहरूमा वर्षातले ठूलो क्षति भएको बताउँदै सांसद जबराले जहाँ धेरै क्षति भएको छ त्यहाँ बजेट दिनुपर्ने बताएका छन् । धेरै समस्या भएका पालिकालाई बजेट दिनुपर्ने उनले बताए ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया