थारू समुदायका लागि शिक्षामा आरक्षणको आवश्यकता छ : सभापति देउवा

चखौरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारू समुदायका लागि शिक्षामा आरक्षणको आवश्यकता रहेको बताएका छन् ।

शनिबार दाङको दङ्गीशरण गाउँपालिकाको चखौरामा अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेको बताए ।

उनले थारु समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । देउवाले थारु समुदायका लागि शिक्षामा आरक्षणको कुरा राखेपछि थारु अगुवा नेताहरू खुसी भएका छन् ।

उनले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । देउवाले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएतापनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ।

लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री समेत रहेका मटावाँ, बरघर (भलमन्सा) का केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताए । चौधरीले भने, ‘लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ ।’

कांग्रेस नेता चौधरीले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरेका छन् ।

मटहवाँ संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहका सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, दीपक गिरी, देवेन्द्रराज कँडेल, विजयकुमार गच्छदार, कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेश कांग्रेसका उपसभापति राजु खनाल, लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, अनिता देवकोटा, लौका बिक, नेपाली कांग्रेस दाङका सभापति शंकर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2025 February 8, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया