कीर्तिपुरमा एनपीएल हेर्न पुगेका दर्शकसँग धकेलाधकेल, प्रहरीहरू घाइते (तस्वीर)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेल भएपछि झडप हुँदा दुई जना प्रहरी जवान र केही दर्शक घाइते भएका छन् ।

शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल भएको प्रहरीले जनाएको छ । केहीबेर झडपको अवस्था सिर्जना भएको थियो ।

घाइतेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी गाउँपालिका-५ घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय केशव आचार्य र बैतडीको डिलासैनी गाउँपालिका घर भई सिन्धुपाल्चोक बस्ने २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोट घर घई बानेश्वर बस्ने ३२ वर्षीय प्रेम खड्की छन् ।

झडपमा २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दानबहादुर राउत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान तामाङको कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि वीर अस्पताल रिफर गरिएको छ । तामाङलाई वीर अस्पतालबाट बाँसबारीस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । तामाङको अवस्था गम्भीर रहेको छ । तामाङको टाउकोमा चोट लागेको छ ।

अर्का प्रहरी जवान राउतको पनि कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ । उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ ।

Published : Saturday, 2024 November 30, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया