प्रभावकारी आयोजना निर्माण गरी कार्यान्वयनमा जानुपर्छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले समग्र क्षेत्रलाई समेटेर प्रभावकारी आयोजना निर्माण गरी कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले आर्थिक सामाजिक, शिक्षा तथा स्वास्थ्य र उत्पादन केन्द्रित आयोजनाहरू तयार गरेर विकासका काम अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले प्रदेश सरकारले नागरिकहरूको सेवा प्रवाहसँगै आधारभूत आवश्यकताको क्षेत्रमा प्राथमिकताका साथ काम गरेको बताए । सरकारले खानेपानी आपूर्तिलाई गुणस्तरीय र सहज उपलब्धताका लागि ‘एक घर एक घारा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री लामाले बताएका छन् ।

लामाले अव्यवस्थित विकासले विपदका घटनालाई बढवा दिएको बताएका छन् । उनले योजना विनाका कार्यक्रमहरू निर्माण गर्दा सरकारको लगानी व्यर्थ बनिरहेको बताए ।

मुख्यमन्त्री लामाले आयोजनाको विस्तृत अध्ययन पश्चात् मात्र बजेट व्यवस्था गरेर कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए । उनले विकासको मोडल परिवर्तन गरेर एकीकृत विकासको आयोजनाहरू सञ्चलन गर्नुपर्ने बताए ।

उनले भने, ‘मास्टर प्लान विना नै आयोजनाहरूमा काम भएका छन् । योजना विना नै कार्यान्वयनमा अघि बढ्दा सरकारको लगानी व्यर्थ बनिरहेको छ ।’

‘अव्यवस्थित रूपमा भएका विकासका कामले विपद्लाई बढवा दिएका छन्’, मुख्यमन्त्री लामाले भने, ‘अब एकीकृत विकासको मोडलमा लगानी गरेर उपलब्धिमूलक ढङ्गबाट काम गर्नुपर्छ ।’

Published : Thursday, 2024 November 28, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया