सहकारी ठगका अभियुक्त लामिछानेलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि प्रहरीले काठमाडौं ल्याएको छ ।

बिहीबार साँझ बुद्ध एयरको जहाजबाट प्रहरीले लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएको हो । काठमाडौं विमानस्थलमा लामिछानेका केही समर्थकले नाराबाजी पनि गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई प्रहरीको गाडीमा राखेर कडा सुरक्षाका बीच जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीमा लगेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

लामिछानेमाथि प्रहरीले सहकारी ठग, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसूरमा अनुसन्धान गरिरहेको छ । अदालतको आदेशमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेसँग काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित विषयमा बयान लिइनेछ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइनेछ । बयान सकिएपछि लामिछानेलाई पोखरा लगिनेछ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौंपछि लामिछानेसँग चितवनमा पनि बयान लिने तयारी प्रहरीको छ । लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

Published : Thursday, 2024 November 28, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया