एमालेका डम्बरध्वजले शक्ति देखाउँदा फुङलिङमा झडप, सुरक्षाकर्मीसहितका व्यक्ति घाइते
फुङलिङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण प्रक्रिया शुरु गर्ने क्रममा झडप भएको छ ।
शुक्रबार भएको झडपमा ६ जना घाइते भएका छन् । निर्माणको विरोधमा रहेका फुङलिङ नगरपालिका–४ का चन्द्र मादेन, निर्माणको पक्षमा रहेका फुङलिङ –४ का दामोदर अधिकारी र फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू घाइते भएका छन् । उनीहरू उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
निर्माण पक्षका कुमार शेर्पा, सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी सामान्य घाइते भएका छन् ।
पाथीभरा माता केबुलकार कम्पनीले निर्माणको जिम्मा दिएका हिमालय कन्ट्रक्सन र सेवालुङ निर्माण सेवाले शिलान्यासका लागि एमालेका नेता एवम् पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन लगायतलाई लिएर गएका थिए ।
उनीहरूसँगै उद्योगी–व्यवसायी पनि सदरमुकाम फुङलिङबाट गएका थिए । शिलान्यास सकेर स्काभेटर मेसिन निर्माण क्षेत्रमा लैजाने क्रममा केवलकार निर्माणको विरोध गर्दै आएकाहरूले अवरोध गरेपछि प्रहरीले मेसिन रोकेको थियो ।
निर्माण पक्षले प्रहरीलाई चाबी मागेपछि निर्माण पक्ष र विरोध गर्ने पक्षबीच ढुङ्गा हानाहान हुँदा उनीहरू घाइते भएका हुन् । झडपपछि निर्माण कम्पनी सदरमुकाम फुङलिङ फर्किएको छ । प्रशासनले निर्माणमा समन्वय गर्ने बताएपछि आफूहरू फर्किएको कम्पनीका प्रबन्धक ईन्द्र केदेमले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया