ठूला माछा अर्यालसहितले सफाइ पाए पनि अख्तियारलाई आंशिक सफलता, विकल-सफल भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको छ । उनलाई सार्वजनिक संस्थाको सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले असार ९ गते मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । अर्यालसहितका केही व्यक्तिले सफाइ पाए पनि केही व्यक्ति भ्रष्टाचारी ठहर भएका छन् । अख्तियारलाई यो मुद्दामा आंशिक सफलता मिलेको छ ।

अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो असुल गर्न माग दाबी गरेको थियो ।

अर्यालको हकमा इजलासले अनुमान, शंका र मनोगत आधारमा कसुर ठहर गर्न नमिल्ने उल्लेख गरेको छ ।

अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर गरेको छ ।

उनीहरूले राजस्व अनुसन्धान विभागसँग सम्झौता नै नगरी र खरिद आदेश समेत प्राप्त गरेबेगर नै स्टिकर छपाइका लागि प्रिन्टसेल प्रालिसँग सम्झौता गरेको देखिएको हो ।

विकल पौडेल र सफल श्रेष्ठले आपसी मिलेमतो गरी पेस्की भुक्तानी गरी सार्वजनिक सम्पत्तिमा हानि पु¥याएको आदेशमा उल्लेख छ ।

उनीहरूले यसरी प्रिन्टसेललाई बदनियतपूर्वक अग्रिम पेस्की गरेको देखिएको भन्दै अदालतले उनीहरूले भ्रष्टाचार गरेको ठहर गरेको छ ।

उनीहरूले ३ करोड ४२ लाख २२ हजार ८०० रूपियाँ नोक्सानी पु¥याएको ठहर छ । उनीहरूको सजाय निर्धारण गर्न मंसिर २५ गतेको पेसी तोकिएको छ ।

परामर्शदाता शक्ति श्रेष्ठ, लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ घिमिरेले सफाइ पाएका छन् ।

प्रिन्टसेल प्रालि र निर्देशक केशव शर्माको हकमा उनीहरूले गरेको बदनीयत र मिलेमतो पुष्टि हुने प्रमाणको अभावमा उनीहरूले सम्पत्तिको हानिनोक्सानी गर्ने बदनियत नदेखिएको आदेशमा उल्लेख छ ।

राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, उपसचिव गणेशविक्रम शाही, उपमहानिर्देशक टंकप्रसाद पाण्डेय र शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले पनि सफाइ पाएका छन् ।

Published : Wednesday, 2024 October 30, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया