प्रेस स्वतन्त्रता हननका घटनामा १७ पुरुष र २ महिलापीडित
काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो तीन महिनामा देशभरिमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएको जनाएको छ ।
काउन्सिलमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा छन् । आक्रमण, कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जा, अवरोध र गिरफ्तारीे प्रयासको घटना एक÷एक रहेका छन् ।
प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ । मधेश प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एक घटना भएका छन् ।
यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिलापीडित भएको पाइएको छ । काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ ।
प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । गत वर्ष प्रेस स्वतन्त्रता हननका ७९ घटना अभिलेखन भएको थियो ।
काउन्सिलले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ । प्रेस स्वतन्त्रतालाई रक्षा गरी मिडिया प्रवर्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दैआएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया