सभापति देउवासँग प्रतिष्ठानका सदस्यहरूले लिए शपथ, प्रतिवेदन बुझाउने गरी उपसमिति गठन
काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथ ग्रहण गराएका छन् ।
बुधबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति देउवाले सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । देउवाले प्रतिष्ठानको उद्देश्य अनुरुप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
शपथ ग्रहणपछि बुधबार नै पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काको सभापतित्वमा प्रतिष्ठान कार्यसमितिको पहिलो बैठक बसेको छ ।
खड्काले जिम्मेवारी ग्रहण गरी सकेपछि आत्म अनुशासनमा बस्न ध्यानाकर्षण गराउँदै पार्टीलाई संगठित, अनुशासित बनाउँदै समय सापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानको रुपमा संचालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको विषयलाई जोड दिएका छन् ।
बैठकले प्रतिष्ठानमा हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गरी आगामी कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखलाई प्रतिवेदन बुझाउने गरी कार्य सम्पादन गर्ने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि आवश्यक परामर्श गरी तत्काल उपसमिति गठन गर्ने जिम्मेवारी प्रतिष्ठान प्रमुखलाई दिएको छ । प्रतिष्ठानले यसबीचमा गरेका कामको समीक्षा गर्दै नीति, अनुसन्धान र प्रशिक्षण क्षेत्र लगायत विविध विषयमा छलफल भएको छ ।
बैठकमा नवनियुक्त सदस्यहरू कविराज पण्डित, डा.जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला बर्मा, बलदेव तिमिल्सिना, डा.कृष्णप्रसाद पौडेल, भरत प्रसाई, ई.कमल कार्की, प्रताप पौडेल र भवानी शर्माले आ–आफ्ना विचार राखेका छन् ।
गत कात्तिक ५ गते प्रतिष्ठान प्रमुख खड्काले १८ जनालाई सदस्यमा मनोनीत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया