रविका दुई दूतले प्रधानमन्त्री ओलीलाई राति भेटे
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी) र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भेट गरेर सभापति रवि लामिछानेलाई बचाइदिन आग्रह गरेका छन् ।
सोमबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीलाई अर्याल र परियारले भेट गरेर सहकारी ठगी प्रकरणबाट लामिछानेलाई बचाइदिन आग्रह गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।
एमालेका नेता रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसाँस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’
‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ’, एमालेका नेता रिजालले भने, ‘डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’
रास्वपाका उपसभापति अर्याल र प्रमुख सचेतक परियारले लामिछानेलाई छाड्न र मुद्दा फिर्ता लिइदिन गरेको आग्रहप्रति प्रधानमन्त्री ओलीले न्यायलय र प्रहरी प्रशासनलाई अनुसन्धानमा सहयोग गर्न सुझाव दिएर पठाएका छन् ।
रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा छन् । रुपन्देही जिल्लाले पनि सहकारी ठगीमा लामिछानेलाई पक्राउ गर्न खोजेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
सभापति लामिछानेले दूतका रुपमा उपसभापति अर्याल र प्रमुख सचेतक परियारलाई प्रधानमन्त्री ओलीलाई भेट्न पठाएका छन् । अर्याल गृहमन्त्री रमेश लेखकलाई सोमबार साँझ गृह मन्त्रालयमा भेट गरेर लामिछानेलाई बचाइदिन र हाजिरी जमानीमा छाड्न आग्रह गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया