भैँसेपाटी हनिट्रयाप काण्डमा मिटरव्याजी गणेश उप्रेतीको तार जोडियो, एसपी थापाले नै भेटाइदिएका थिए

काठमाडौं । भैँसेपाटी ‘हनिट्रयाप’ प्रकरणमा ‘मिटरव्याजी’ गणेश उप्रेतीको ठूलो कनेक्सनको तार जोडिएको प्रहरीले आशंका गरेको छ ।
भैँसेपाटी प्रहरी प्रभागकी प्रहरी निरीक्षक विनु शाही निलम्बनमा परेका छिन् । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि हाल फरार छिन् । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुर प्रहरी हिरासतमा छन् । हनिट्रयाप काण्डमा असोज ९ गते पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीकी सुष्मा बिक, ताज मुल इस्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तत्कालीन समयमा डीएसपी भएर दरबारमार्ग प्रहरी वृत्तमा प्रमुख रहेका बेला हालका एसपी कमल थापा र गणेश उप्रेतीको राम्रो सम्बन्ध बनेको थियो । मिटरव्याज लगायत विभिन्न काण्डैकाण्डमा पर्दै आएका गणेश उप्रेतीले एसपी थापासँग निकै राम्रो सम्बन्ध बनाएका हुन् । एसपी थापाले नै मिटरव्याजी गणेश उप्रेतीको सम्बन्ध भैँसेपाटी हनिट्रयाप काण्डमा मुछिएका ताज मुल इस्लामसँग बनाइदिएका थिए ।
मिटरव्याजी गणेश उप्रेतीविरुद्ध तत्कालीन समयमा विदुर शर्माले प्रहरीमा जाहेरी दिएका थिए । गणेश उप्रेतीविरुद्ध विदुर शर्माले २०७८ सालको साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा जोहरी दिए पनि शक्तिकेन्द्रको आडमा बच्दै आएका थिए । तत्कालीन सीआईबी प्रमुख (एआईजी) सहकुल थापाले मिटरव्याजी गणेश उप्रेतीविरुद्ध विदुर शर्माले दिएको जोहरी लिए पनि दर्ता गरेका थिएनन् ।
सीआईबीको प्रमुखमा तत्कालीन एआईजी धिरजप्रताप सिंह आएपछि मिटरव्याजी गणेश उप्रेतीलाई पाताकसेर पक्राउ गरि मुद्दा चलाएका थिए । गणेश उप्रेती साढे १९ करोडको चेकसहित पक्राउ परेका थिए । सीआईबीले २२ करोड ५१ लाख २१ हजार ९९६ रुपियाँ ठगी गरेको अभियोगसहित मुद्दा चलाएको थियो ।
गणेश उप्रेतीले सफाइ पाए पनि एसपी कमल थापासँग मिलेर विभिन्न काण्डमा सहयोग र संलग्नता भएको देखिएको प्रहरीले जनाएको छ । मिटरव्याजी गणेश उप्रेतीलाई सफाइ दिने न्यायाधीश अम्बिकाप्रसाद निरौलामाथि न्याय परिषदले छानविन गरेको थियो । छानविनमा दोषी ठहर भएपछि अम्बिकाप्रसाद निरौलाले न्यायाधीश पद गुमाउनु परेको थियो ।
मिटरव्याजी गणेश उप्रेती पुनः मुद्दा लाग्न र पक्राउ पर्नबाट जोगिँदै आएका छन् । सीआईबीमा आफूविरुद्ध जाहेरी दिएको झोँकमा गणेश उप्रेतीकै योजनामा एसपी कमल थापासँग मिलेर विदुर शर्मालाई फसाउने षड्यन्त्र गरेको प्रहरीभित्र अनुसन्धान भइरेको छ ।
विदुर शर्मालाई हनिट्रयापमा फसाउने योजनामा वैशाख १९ गते युवती तयार पारेर विदुर शर्मासँग शारीरिक सम्पर्कको वातावरण मिलाउनुका साथै त्यसबापतको १ लाख ५० हजार रुपियाँ गणेश उप्रेतीबाटै लिएको प्रहरी बयानमा उल्लेख छन् ।
युवतीसँग शारीरिक सम्पर्क भएलगत्तैबाट विदुर शर्मा समस्यामा परेका हुन् । त्यसपछि युवतीले प्रहरीमा मौखिक उजुर गरेकी थिइन् ।
व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै ईन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपियाँ माग भएको थियो । पछि ३० लाख रुपियाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपियाँ गरेर दुई पटकमा भीमादेवी थापाको खातामा २० लाख रुपियाँ रकम जम्मा भएको थियो ।
यसरी असुल गरिएको रकम भीमादेवी थापाको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । यो घटनामा पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन ईन्सपेक्टर विनु शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया