कांग्रेसको निर्देशनपछि तरुणहरूद्वारा डुबान क्षेत्र ललितपुरमा सफाइ

काठमाडौं । नेपाल तरुण दलले ललितपुरमा बाढी र डुबानबाट प्रभावित स्थानमा सरसफाइ गरेको छ ।

मंगलबार ललितपुर महानगरपालिका वडा नं. १८, आदित्यनाथ टोल दुर्गा मन्दिर परिसरमा तरुण दलका नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । उनीहरूले डुबानबाट क्षति भएको बाटो मर्मत सम्भार गर्नुका साथै बाढीले बगाएर ल्याएको हिलो र माटो हटाएका छन् ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका राष्ट्रिय सभाका सांसद जितजङ्ग बस्नेतको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा तरुणहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले तरुणहरू जनताको सेवामा सधै सक्रिय भएर लाग्ने बताएका छन् ।

बाढी र डुबानका कारण बागमती नदीले ल्याएको माटो र हिलोलाई तरुणहरूले डोजरमार्फत हटाएका छन् । डोजरबाट सम्भव नभएको स्थानमा बेल्चा प्रयोग गरेर सफाइ गरेका छन् ।

नेपाली कांग्रेसले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न निर्देशन दिएको थियो । कांग्रेसको निर्देशनलाई पालना गर्दै तरुणहरूले ललितपुरबाट सहयोग गर्न थालेका छन् ।

Published : Tuesday, 2024 October 1, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया