सहकारीको करोडौं रकमका ठग एमालेका मेयर देवकुमार कारागार चलान
पोखरा । इमेज सहकारी संस्थाका अध्यक्ष देबकुमार नेपालीलाई बागलुङ्ग जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
मंगलबार बागलुङ्ग जिल्ला अदालतले अध्यक्ष नेपालीलाई पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको छ ।
प्रतिवादी ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । ओमप्रसादसँग १ लाख ५० हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ ।
देवकुमार नेपाली सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका थिए । देवकुमार नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । एमालेबाट देवकुमार नेपाली मेयरमा विजयी भएका थिए । देवकुमार नेपाली पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी संस्थाका उपाध्यक्ष पनि हुन् ।
देवकुमार नेपाली र ओमप्रसाद नेपालीलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।
देवकुमार नेपालीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया