एसपी तिमिल्सिनाले दाङ प्रहरीको जिम्मेवारी सम्हाले
घोराही । प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
मंगलबार एसपी तिमिल्सिनाले घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा जिम्मेवारी सम्हालेको प्रेस नोटमा उल्लेख छ ।
प्रहरी उपरीक्षक तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरूलगायत अन्य प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।
एसपी तिमिल्सिनाले मातहतलाई निर्देशन दिँदै शान्ति सुरक्षा र नागरिकको पक्षमा काम गर्न आग्रह गरेका छन् ।
एसपी तिमिल्सिनालाई नेपाल प्रहरीको मानवश्रोतबाट दाङमा सुरुवा गरिएको छ । आइजीपी बसन्तबहादुर कुँवर र कांग्रेसका केही नेताहरूको जोडबलमा एसपी तिमिल्सिनालाई दाङमा सुरुवा गरेको बुझिएको छ ।
दाङ प्रहरीमा एमालेका महासचिव शंकर पोखरेल लगायतको समूहले एसपी विनोद घिमिरेलाई ल्याउन प्रयास गरेको थियो । घिमिरेलाई उछिनेर एसपी तिमिल्सिनाले दाङमा बाजी मारेका छन् ।
एसपी तिमिल्सिनालाई आईजीपी कुँवरले मानवश्रोतबाट बाहिर पठाउन चाहेका थिए । सोही कारण तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय दाङ चिठ्ठा परेको चर्चा हेडक्वाटरमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया