राज्य व्यवस्था समितिद्वारा सडक खाेल्न, राहत र पुनःस्थापनामा लाग्न सरकारलाई निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सम्भव सबै उपाय प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले बाढीपहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई तत्काल उद्धार गर्न पनि निर्देशन दिएको सभापति रामहरि खतिवडाले बताएका छन् ।

सभापति खतिवडाद्वारा हस्तक्षरित निर्णयमा भनिएको छ, ‘राज्य व्यवस्था तथा सुधासन समितिको यो बैठक नेपाल सरकारलाई भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुनस्र्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन गर्दछ ।’

सभापति खतिवडाले समितिमा छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बोलाएका थिए । लेखकसँगको छलफलमा सहभागी समितिका सदस्य सांसदहरूले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरू सुचारु गर्न सरकारले तत्काल पहल लिनुपर्ने बताएका छन् ।

समितिले हवाइ भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्हार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाइ यातायातको व्यवस्थ गर्न, खाद्यान्न, तरकारी, फलफूल आदीको पूर्ववत मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले भनेको छ, ‘विभिन्न जिल्लामा अलपत्र परेका यात्रीहरूलाई तुरुन्तै उद्दार गरी गन्तव्यमा पुर्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन गर्दछ ।’

समितिले वर्षाका कारण नष्ट भएका सिंचाइ कुलोहरू, पिउने पानी, विद्युत टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिक र यस अवस्थामा घाइतेहरुको औषधि उपचारलाई सहज बनाउन पनि नेपाल सरकारलाई निर्देशन दिएको छ ।
गृहमन्त्री लेखकले वर्षाका कारण दुर्घटना हुने भनी रात्रिबस रोक्न गरेको यात्रासम्बन्धी निर्देशिका जारी गरेको अवस्थामा कसरी यातायात सञ्चालन भए भनेर आन्तरिक छानबिन भइरहेको समितिलाई जानकारी गराएका छन् ।

लेखकले पूर्वसूचना जारी गर्दा पनि किन रात्रिबस काठमाडौं प्रवेश गर्न रोकिएन भनेर आन्तरिक छानबिन भइरहेको बताए ।

मौसम पूर्वानुमानको सूचनामा आधारित भएर बस सञ्चालन नगर्न र नगराउन सूचना जारी हुँदा पनि किन बस सञ्चालन गर्न दिइयो भनेर सांसदहरूले गृहमन्त्रीलाई सोधेका छन् ।

धादिङको झ्याप्लेखोलामा बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । सो विषयमा गृहमन्त्री लेखकले भने, ‘एडभाइजरी नोट जारी गरेका थियौं । त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने छानबिन गरिरहेका छौँ । आन्तरिक छानबिन भइरहेको छ ।’

गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको बताएका छन् ।

धादिङमा बसहरू पहिरोमा पुरिएको र यात्रुहरूको मृत्यु भएको विषयमा नेपाल प्रहरीको हेडक्वाटरले धादिङका प्रहरी प्रमुख एसपी गौतम केसीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धानमा राखेको छ ।

Published : Tuesday, 2024 October 1, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया