एमालेसँग सरकार बनेपछि कांग्रेसका नेता कार्यकर्तामा खुसीयाली छाएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा आयोजित कार्यक्रममा देउवाले अरू दलहरूलाई सिध्याउने भन्ने नीति नभएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफूले सबैलाई मिलाएर अघि बढाउन चाहेको बताएका छन् । उनले कांग्रेस र एमालेबीच सरकार बनेपछि देशभरि कांग्रेसका नेता कार्यकर्ताहरूमा खुसीयाली छाएको र उत्साह रहेको बताए ।
‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए’, देउवाले भने, ‘डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ ।’
सभापति देउवाले भने, ‘त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ ।’
‘यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुसी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ’, सभापति देउवाले भने, ‘त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन ।’
सभापति देउवाले पार्टीमा अब नयाँ पुस्ताले नेतृत्व लिन तयार हुनुपर्ने बताएका छन् । ‘भोलिका दिनहरु चुनौतीपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेका छन् ।दुवैलाई मिलाएर अघि बढ्न म आग्रह गर्दछु । मेरो त एज पनि भयो । अब तपाईहरू नै अघि बढ्ने हो’, देउवाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया