हवाई दुर्घटनाप्रति कांग्रेस गम्भीर, बिचौलियामाथि निगरानी गर्न माग
काठमाडौं । नेपाली कांग्रेसले हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गम्भीर निर्णय गरेको छ ।
आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले भनेको छ, ‘बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यवहारिक सुधारका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गर्दछ ।’
कांग्रेसले सार्वजनिक सेवाको क्षेत्रमा हुने ढिलासुस्ती, बेथिति र विकृतिको अन्त्य गर्दै सेवाग्राहीमा सकारात्मक अनुभूति हुन सक्ने गरी सर्वसुलभ सेवा प्रदान गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले दुग्ध विकास संस्थानले दुध उपभोक्तालाई सहज ढंगबाट बजारमा दुध उपलब्ध गराउन किसानहरूबाट दुध संकलन गर्ने र उपभोक्ताबीच पु¥याउने दायित्व रहेको जनाएको छ ।
‘किसानहरूबाट सस्तो मूल्यमा उधारो खरीद गर्ने र महंगो मूल्यमा नगदमा बिक्री गर्ने गर्दा समेत किसानलाई दिनु पर्ने दुधको मूल्य भुक्तानी विलम्व र अनिश्चित हुनु निश्चय नै गम्भीर र दुःखलाग्दो विषय हो’, कांग्रेसले भनेको छ ।
‘यसबाट आम दुग्ध किसानलाई परिरहेको पीरमर्कालाई हृदयंगम गर्दै उनीहरूलाई अविलम्व भुक्तानी दिन नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन प्रारम्भ गरिएको स्वास्थ बीमाको क्षेत्रमा कतिपय अप्ठ्यारा देखिएको कांग्रेसले जनाएको छ ।
‘वीमित नागरिकले बीमाकै आधारमा उपचार गर्न नपाएको तथा असहज र झन्झटिलो भएको गुनासो सुनिएको छ’, कांग्रेसले भनेको छ, ‘वीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरूलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई रु. ५ लाख कायम गर्न सरकारसँग माग गर्दछ ।’
कांग्रेसले चाडबाडलाई लछित गरी कालाबाजारी, मिसावटखोर र बिचौलियाबाट आम उपभोक्ता ठगिने गरेकोले संघ, प्रदेश र स्थानीय तहबाट सघन र प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
चाडबाडको लागि अत्यावश्यक बस्तुको रूपमा रहेको चामल, दाल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरूको कृतिम अभाव सृजना हुन सक्ने अवस्थालाई मध्येनजर गरी बजारको माग बमोजिम उक्त वस्तुहरूको समयमै आपूर्ति व्यवस्था सहज गरी बजार नियमनको प्रभावकारी कदम चाल्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनहरूको समस्या समाधान गर्न अघिल्लो आयोगले गर्दै आएको कार्यलाई निरन्तरता दिने गरि कानूनी लगायतका आवश्यक अन्य प्रभावकारी कार्य गर्न सरकारको ध्यानार्षण गराएको छ ।
‘जनभावना अनुसार संघीयतालाई सुदृढ र प्रभावकारी बनाउँदै जनताका अधिकारसँग सम्बन्धित प्रकृयामा रहेका विधेयकहरू अविलम्ब अघि बढाइयोस्’, कांग्रेसले भनेको छ ।
‘संविधानसभाबाट बनेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हकहरू कार्यान्वयनका लागि निश्चित समय अवधि भित्र बन्नु पर्ने कानूनहरु अझै पनि बन्न नसक्दा उनीहरूको हक कार्यान्वयन हुन सकेको छैन’, कांग्रेसले भनेको छ ।
‘तसर्थ, मौलिक हकसँग सम्बन्धित बन्नु पर्ने आवश्यक कानूनहरु यथाशीघ्र बनाउन सरकारसँग माग गर्दछ’, कांग्रेसले भनेको छ ।
‘अन्तर्राष्ट्रिय मैदानमा हाम्रा खेलाडीहरू राम्रोसँग प्रदर्शन गरिरहेका छन् तर सुविधा सम्पन्न रंगशाला नभएको र खेलाडीलाई उचित सेवा, सुविधा नभएको गुनासो रहेको छ’, कांग्रेसले भनेको छ ।
‘सुविधा सम्पन्न रंगशाला निर्माण, विस्तार तथा उचित सेवा, सुविधा दिई खेलाडीहरूलाई आकर्षित र प्रोत्साहित गरी खेलकुद क्षेत्रको विकासमा सरकारले अविलम्व उपयुक्त कदम चालोस् भन्ने यो बैठक माग गर्दछ’, कांग्रेसले भनेको छ ।
‘यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई नेपाली कांग्रेसले गम्भीर चिन्ताको रूपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘राष्ट्रको सर्वाङ्गीण विकासका लागि किशोर किशोरीको शिक्षा र रोजगारीमा विशेष ध्यान दिनु पर्ने कुरामा हाम्रो अटुट विश्वास छ’, विज्ञप्तिमा भनिएको छ, ‘बिग्रदो शैक्षिक अवस्थालाई सुधार गरी स्वदेशमै सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर निर्माण गर्न नेपाली कांग्रेसले विषय विज्ञ एवं सरोकारवालाहरूको परामर्शबाट गरी विद्यालयदेखि विश्वविद्यालयसम्मको समयसापेक्ष ‘शिक्षा नीति’ निर्माण गर्नेछ ।’
‘विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’, कांग्रेसले भनेको छ ।
‘यस वर्ष अति भारी वर्षाका कारण बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपदमा परी सयौंको संख्यामा नागरिकले ज्यान गुमाउनु परेको, हजारौंको संख्यामा विस्थापित हुनु परेको, खेती योग्य जमीन, पशु चौपाया लगायत भौतिक सम्पत्ति तथा देशभरको सडक सञ्जालमा पुग्न गएको क्षतिबाट उत्पन्न परिस्थितिले नागरिकको जीवन कष्टकर भएको विदितै छ’, कांग्रेसले भनेको छ ।
‘सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सहानुभूति प्रकट गर्दछ’, कांग्रेसले भनेको छ, ‘पीडित नागरिकको जीवन सहज बनाउनका लागि सरकारले उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था सहित उपयुक्त कदम चाल्नका लागि नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’
‘हरेक वर्ष नेपाली किसानहरूले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकारसँग माग गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।
‘नेपालको इतिहासमा पारा ओलम्पिक खेलमा पहिलो पटक पदक विजेता पलेसा गोर्वधनले राष्ट्रको गौरव र शान बढाउनु भएकोले आजको बैठक उहाँलाई विशेष बधाई ज्ञापन गर्दै उच्च सम्मान गर्ने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया