अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, एमाले-कांग्रेसबीच सहमति भएको छ : डा.आरजु राणा

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिला प्रधानमन्त्रीको कुरा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेताका लागि बोलेको हुनुपर्ने बताएकी छिन् ।
बिहीबार धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा.राणाले भनिन्, ‘महिला प्रधानमन्त्रीको कुरा ल्याइ दिएकोमा ओलीजीलाई धन्यवाद । यसले एउटा तरंग त ल्यायो तर, उहाँले मलाई प्रधानमन्त्री बनाउने कुरा गर्नु भएको होइन, आफ्नै पार्टीको महिलाका लागि होलाजस्तो लाग्छ ।’
डा.राणाले आफ्नो पार्टीभित्रको हैसियत आफूलाई थाहा भएको पनि बताइन् । ‘नेपाली कांग्रेस डिसिप्लेनमा चल्ने पार्टी हो’, उनले भनिन्, ‘बाहिरबाट हेर्दा एउटा देखिएला तर, मलाई मेरो पार्टीभित्रको हैसियत कति छ ? मलाई थाहा छ ।’
डा.राणाले भनिन्, ‘प्रधानमन्त्री बन्न संसदीय दलको नेता पनि बन्नुपर्छ । त्यो राम्रो कल्पना हो । प्रधानमन्त्री ओलीजीलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु किनकी उनले नेपाली समाजको एउटा राम्रो इम्याजिनेस गर्नु भएको छ ।’
परराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा.राणाले कांग्रेसको अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै रहेको बताएकी छिन् । डा.राणाले भनिन्, ‘हाम्रो पार्टीबाट अबको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा नै हो । एमाले र कांग्रेसबीच सहमति नै भएको छ नि । दुई वर्ष ओलीजीले चलाउने ।’
मन्त्री डा.राणाले आफ्नो भारत भ्रमणका क्रममा पश्चिमको महाकाली नदीमा दुईवटा पक्की पुल निर्माण गर्नेबारे छलफल भएको बताएकी छिन् ।
‘बैतडीको झुलाघाट र डेडेल्धुराको परसुराममा पक्की पुलका लागि मोदी जिलाई भनेको छु’, डा.राणाले भनिन्, ‘उहाँले आफ्नो उत्तराखण्ड राज्यको सरकारसँग कुरा गर्छु भन्नुभएको छ ।’
परराष्ट्रमन्त्री डा.राणाले कैलालीको गेटामा उपकरणका लागि बजेटमा पुनरावलोकन हुने बताएकी छिन् । उनले भनिन्, ‘कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको पूर्वाधार बनिसकेको छ । डाक्टरहरूको टोली आएर बजेट कम भयो पनि भन्नुभएको छ । उपकरणहरूका लागि यसपालिको बजेटमा पुनरावलोकन गरिनुपर्छ,म त्यसमा प्रयास गर्नेछ ।’
उनले देशमा संकट पर्दा एमाले र कांग्रेस मिलेको इतिहास रहेको बताइन् । ‘देशमा जबजब संकट आउँछ, तबतब कांग्रेस र एमाले मिलेर देशलाई अगाडि बढाउँछन्, चाहे त्यो जनआन्दोनका बेला होस्, चाहे शान्ति प्रक्रियाका बेला होस् ।’
परराष्ट्रमन्त्री डा.राणा बुधबार गौरा बिसर्जनका लागि धनगढी आएकी हुन् । डा.राणाले बुधबार नै गौरा माताको पुजन गरि बिसर्जन गरिसकेकी छिन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया